गृहमन्त्री रमेश लेखक र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, यातायात मजदुर संगठनबीच बुधबार छलफल भएको छ।
बाढीपहिरो र डुबान लगायतका प्राकृतिक विपदबाट अवरुद्ध सडक पुनःसञ्चालन गरी यात्रा सहज बनाउने विषयमा उनीहरूबीच कुराकानी भएको हो।
अवरुद्ध सडक सञ्चालन गरी सुरक्षित यात्राका विषयमा छलफल भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका बरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए।
‘पहिरोको जोखिम पनि छ। बीपीराजमार्ग अन्तर्गत रोशी क्षेत्रमा अलपत्र परेका यातायात मजदुरलाई राहत उपलब्ध गराउने विषयमा पनि छलफल भयो,’ उनले भने।
गृहमन्त्री लेखकले रोशीमा रहेका यातायात मजदुरलाई तत्काल राहत उपलब्ध गराउन मातहतलाई निर्देशन दिएको बताएका थिए।
मन्त्री लेखकले विपद्का कारण अबरूद्ध राजमार्ग खुलाउन सम्बन्धित मन्त्रालय, सरोकारवाला निकायका साथै सुरक्षाकर्मीसमेत सक्रिय रहेको बताएका थिए।
‘पृथ्वी राजमार्गको झ्याप्लेलगायत पहिरोको जोखिम रहेका क्षेत्रमा ट्राफिक र प्रहरी परिचालन गरिएको छ। चाडबाडका बेला आएको विपद्को सामना गर्दै सहज र सुरक्षित यात्राका लागि गम्भीर भएर लागेका छौं,’ उनले भने।