प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको सुनुवाइ सकिएको छ।
बुधबार दिउँसो सिंहदरबारमा प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेका राउतमाथि उठेका प्रश्नका विषयमा सुनुवाइ भएको हो।
प्रस्तावित प्रधान्यायाधीशको सुनुवाइ सकिएपछि अस्ट्रेलियाका लागि राजदूत सिफारिस चित्रलेखा यादवको सुनुवाइ सुरू भएको हो।
राउतविरूद्ध समितिमा ६ वटा उजुरी परेका थिए। समितिले राउतविरूद्ध १० दिनको समय दिएर उजुरी आह्वान गरेको थियो।
सुनुवाइ समितिमा राउतमाथि उठेका विषयबारे समिति सदस्यहरूले प्रश्न गरेका थिए।
समिति सदस्य इश्वरी घर्तीले अदालतमा हुने बिचौलियाबारे प्रश्न गरेकी थिइन्।
‘अदालतमा हुने बिचौलिया को हुन् आज तपाईंले चिनाएर जानुस्,’ उनको प्रश्न थियो।
यस विषयमा बिचौलिया यिनी नै हुन् भनेर चिन्न सकिने अवस्था नरहेको र संयन्त्र बनाएर नियन्त्रण गर्ने प्रस्तावित प्रधानन्यायाधीश राउतको जवाफ थियो।
त्यसैगरी उनीमाथि नेपाल बार एसोसिएसनका अध्यक्ष गोपाल घिमिरेविरूद्ध अदालतको अवहेलना मुद्दा दायर सम्बन्धमा पनि प्रश्न सोधिएको थियो।
तर उनले यो विषय अदालतमा प्रवेश गरिसकेको र विचाराधीन भएकाले बोल्न नमिल्ने जबाफ दिएका थिए।
त्यस्तै, न्यायाधीश प्रकाशमान सिंह राउत सम्मिलित इजलासबाट बाजुराका चेतनदास ऐडीको हत्यामा संलग्न भएकाहरूलाई साधारण तारेखमा छाडिएको भन्दै उजुरी परेको थियो। उक्त उजुरीबारे पनि प्रश्न उठेपछि उनले उजुरीमात्रै नभएर फैसला समेत पढ्न सुझाव दिएका थिए।
* यसअघि अन्यथा भएकोले शीर्षक सच्याइएको छ।- सम्पादक