नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रात्रि बस सञ्चालन रोक्ने निर्णय भए पनि सञ्चालन भएको पाइएकोले त्यस विषयमा सरकारले छानबिन गर्नुपर्ने बताएका छन्।
शनिबार राति झ्याप्ले खोलामा पहिरो खस्दा चार वटा यात्रुवाहक सवारी साधन पुरिँदा ३५ जनाको मृत्यु भएको थियो।
रात्रि बस सञ्चालनमा रोक लगाउने भने पनि कडाइका साथ कार्यान्वयन नहुँदा ती बस सञ्चालन भएको भन्दै आलोचना भइरहेको छ। यस घटनामा जोडेर गृह मन्त्रालयले धादिङका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई सरूवासमेत गरिसकेको छ।
कांग्रेस सांसदसमेत रहेका महामन्त्री थापाले प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा रात्रि बस सञ्चालनमा रोक लगाए पनि सञ्चालन गरेको र नख्खु घटनाबारे सरकारले छानबिन गरी दोषीमाथि कारबाही गरिनुपर्ने बताएका हुन्।
‘एकातिर रात्रिबस सञ्चालन नगर्ने भनेर निर्णय भएको देखिन्छ भने अर्कोतिर रात्रिबस सञ्चालन भएको देखिन्छ। यसमा कसै न कसैले जिम्मा लिनुपर्छ, छलफल मात्र गरेर हुँदैन,’ महामन्त्री थापाले भने, ‘नख्खुको विषयमा पनि त्यहाँ प्रहरीलगायत पुगेको भन्ने पनि छ, के भएको हो, यस विषयमा गृह मन्त्रालयले सत्य तथ्य छानबिन गर्नुपर्छ।’
उनले कमजोरी भएको भए राजनीतिक नेतृत्वले पनि स्वीकार गरेर अघि बढ्नुपर्ने बताए। ‘राजनीतिक नेतृत्वको कमजोरी हो कि सिडिओ, प्रहरी प्रमुख कसको हो, कोही न कोहीले त यो घटनामा जिम्मेवारी लिनुपर्छ,’ महामन्त्री थापाले भने।
नख्खुमा टहरामाथि बसेका चार जनामध्ये तीन जनाको उद्धार भएको थियो भने एक जना बेपत्ता छन्। दुई जनालाई चणिकलाल तामाङले पौडी खेलेर उद्धार गरेका थिए भने एक जना आफैँ पौडी खेलेर नख्खु खोलाबाहिर निस्केका थिए। यस घटनामा प्रहरी ढिलो पुगेको, हेलिकप्टरबाट उद्धार नगरेको भन्दै सरकारको आलोचना भइरहेको छ।
महामन्त्री थापाले संघीय सरकारले बाढीपहिरोमा परेकाहरूलाई उद्धार गर्ने र राहत वितरणको काम भने स्थानीय सरकारले नै गर्नुपर्नेमा जोड दिएका छन्।
अविरल वर्षा भइरहेको र जनधनको क्षति भएका बेला मुख्यसचिव, प्रहरी प्रमुखलगायत काम गरिरहेको देखिनुपर्नेमा नदेखेपछि आलोचना हुनु स्वाभाविक हुने पनि ब ताएका छन्।
उनले धेरै बैठक नगरी काममा ध्यान दिन पनि सरकारलाई आग्रह गरेका छन्।
समितिको बैठकमा गृहमन्त्री रमेश लेखक पनि उपस्थित थिए। उनले नख्खुमा प्रहरी पुगेको पनि बताएका थिए।