नेपाली कांग्रेस संसदीय दलले बाढीपहिरोका कारण अवरूद्ध भएका सडकहरू तत्काल खुलाउन सरकारसँग माग गरेको छ।
मंगलबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा भएको संसदीय दल बैठकले अवरूद्ध सडक तत्काल खुलाउन माग गरेको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए।
दसैं आइसकेकोले आमनागरिकलाई यात्रा सहज बनाउन पनि कांग्रेसले सरकारलाई आग्रह गरेको छ।
‘असोज १२ र १३ गतेको वर्षाको कारण गएको बाढीपहिरोले धेरै धनजनको क्षति भएको छ। बाढी पहिरोमा ज्यान गुमाउनेहरूप्रति दुःख व्यक्त गर्दै श्रद्धान्जली व्यक्त गरेका छौं। बाढी पहिरोमा बेपत्ता भएकाको उद्धार खोजी गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेका छौं,’ उनले भने, ‘अहिले पनि कतिपय मानिसहरू उद्धारको प्रतिक्षामा छन्। सडक बाटोमा फसेका मानिसहरु तत्काल नेपाल सरकारले उद्धार गरोस्। प्राकृतिक प्रकोपको कारणबाट साना ठूला धेरै सडकहरु अवरुद्ध भएका छन्। विपी राजमार्ग,सडक पुलहरु भत्किएको छ। पूर्वको लाइफलाइन बन्द भएको छ। खोजी उद्धार र राहत पछि सरकारले सडक यातायात सुचारु गर्ने काममा तदारुपता देखाउनुपर्छ।’
सरकारले सडक सुचारू गर्न तीब्रता दिनुपर्ने पनि उनले बताए।
विपद् व्यवस्थापनको लागि कांग्रेसका (प्रतिनिधि सभा र राष्ट्रिय सभाका) सांसदबाट १५ दिनको पारिश्रमिक नेपाल सरकारलाई विपद् व्यवस्थापनको लागि प्रदान गर्ने निर्णय संसदीय दलले पास गरेको उनले बताए।