प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकको बचाउ गरेका छन्।
मंगलबार सिंहदरबारमा प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकको बचाउ गरेका हुन्।
शनिबार आएको अविरल वर्षापछि नख्खु खोलामा टहरामाथि बसेका चार जनालाई खोलाले बगाउँदा गृहमन्त्री लेखकले बचाउन नसकिएको टिप्पणी गरेका थिए। पछि बगाएकामध्ये तीन जनाको उद्धार भएको थियो।
त्यस विषयमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले प्रारम्भिक रिपोर्टिङको आधारमा गृहमन्त्री लेखकले सूचना प्रवाह गर्दा सामान्य त्रुटि भएको बताएका हुन्।
‘कहीँकही मौसमको कारणले हेलिकप्टर जान सकेन भन्ने कुरा, अब गृहमन्त्री मान्छे बगेको त्यहाँको रिपोर्ट आयो, आफै गएर त हेर्न सक्ने कुरा आएन। मान्छे बगे, त्यहाँ टिप्न सकिएन रेस्क्यु गर्न सकिएन, बगाएर लग्यो भन्ने भएपछि बचाउन सकिएन भनेर त्यहाँका मान्छेहरूले जे रिपोर्ट दिए गृहमन्त्री जीले त्यही भाषामा भन्नुभयो,’ ओलीले भने।
त्यस्तै उनले पौडिएर जोगाएका चणिकलाल तामाङलाई उद्धार गरिदिएकोमा धन्यवाद समेत दिए।
यसैलाई आधार मानेर अपराधीकरण र अयोग्य ठहर्याउन नमिल्ने पनि उनले बताए।
‘अब प्रारम्भिक जानकारी पूर्ण जानकारी कहिलेकाहीँ आइनसकेको हुनसकेको हुन्छ। जानकारी दिँदै नदिनु पनि राम्रो भएन, त्यसकारण कहिलेकाहीँ प्रारम्भिक जानकारी फरक पर्नसक्छ,’ उनले भने, ‘एकपल्ट खोलामा बग्दै जाँदा खेरि, म पनि केही किलोमिटर बगेको थिएँ। अनि आफै पारी निस्केको थिएँ। मान्छेहरूले देख्दाखेरि, देखेका भए- कसैले देखेकै थिएन म बगेको त्यसकारण कसैले देखेका भए बग्यो नै भन्ठान्थे। त्यसकारण यसलाई धेरै ठूलो अपराधको रूपमा, अयोग्ताको रूपमा, प्रारम्भिक सूचना त्यसलाई पब्लिकमा राख्नु, त्यो चाहि अपराधको रूपमा लिन हुँदैन जस्तो मलाइ लाग्छ।’