सडक सफाइका नाममा बाटो छेउका रूखबिरूवा काट्ने मोरङ रतुवामाई नगरपालिकाको निर्णयलाई उच्च अदालत विराटनगरले रोक लगाइदिएको छ।
यसअघि उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेर रूखविरूवा काट्ने निर्णय कार्यान्वयन नगर्न भनेको थियो। सोमबार सोही आदेशमै उच्चले अन्तरिम आदेश जारी गरेको हो।
सडकलाई अवरोध नगरेका सडक किनारका रूखहरू एवं जीवनपयोगी र मानवहितमा प्रयोग हुने बोटबिरूवा सरसफाइको आवरणमा वातावरणमा प्रतिकूल प्रभाव पर्ने गरी नष्ट गर्न उपयुक्त नहुने भनेर आदेशमा भनिएको छ।
मोरङ रतुवामाई नगरपालिकाका मेयर नागेश्वरप्रसाद सिंह गनगाईंले गएको भदौ २८ मा सार्वजनिक सूचना जारी गर्दै नगर क्षेत्रभरिका सडक छेउछाउका रूख काट्ने बताएका थिए।
सडक छेउका रूखबिरूवाले आवतजावतमा बाधा अवरोध गरेको र असोज ३० देखि त्यो अवरोध हटाउन थालिने मेयरले घोषणा गरेका थिए।
मेयरको घोषणाविरूद्ध अधिवक्ता लवण न्यौपाने र विनोदमणि भट्टराईले रिट दायर गरेका थिए। सोही रिटमाथि सुनुवाइ गर्दै असोज ८ मा अदालतले नगरपालिकाको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो।
सोमबार न्यायाधीशहरू ध्रुवराज नन्द र ममता खनालको संयुक्त इजलासले अन्तरिम आदेश गर्दै वातावरणमा प्रतिकूल असर पर्ने काम हुन नहुने बताएको छ। नगरपालिकाले कानुन अनुसार काम गर्न पाउने भए पनि त्यस क्रममा वातावरणीय पक्ष ख्याल गर्नुपर्ने बताएको छ।
'सार्वजनिक सडकको अवरोध हटाउने र सरसफाइ गर्ने सम्बन्धमा सार्वजनिक सडक ऐन, २०३१ को दफा १८ को उपदफा (३) र (४) ले स्थानीय तहलाई अधिकार प्रदान गरेको छ। साथै आफ्नो क्षेत्रभित्रको सडकको मर्मत सम्भार, सरसफाइ सम्बन्धमा अन्य कानुनले समेत स्थानीय तहले कामकाज गर्न सक्ने नै हुन्छ,' अन्तरिम आदेशमा भनिएको छ, 'उल्लिखित कानुनी व्यवस्थाले विपक्षी नगरपालिकालाई आफ्नो क्षेत्रभित्र सडकको सवारी आवागमन र पैदल यात्रीलाई सहज यात्रा गर्न सडकको अवरोध हटाउन बाधा पर्ने देखिँदैन। तथापि सरसफाइको आवरणमा सडकलाई अवरोध नगरेका रूखहरू एवं जीवनपयोगी र मानव हितमा प्रयोग हुने बोटबिरूवा वातावरणमा प्रतिकूल प्रभाव पर्ने गरी नष्ट गर्न उपयुक्त हुँदैन।'
स्थानीय सरकारले वातावरणीय प्रभावलाई दृष्टिगत गरी असल नियतले सरसफाइ सम्बन्धी कानुनतः बाधा नपर्ने कार्य गर्दा वातारवण संरक्षणलाई ध्यानमा राख्नुपर्ने आदेशमा उल्लेख गरेको छ।
'सडकलाई अवरोध नगरेका रूखहरू कटान नगर्नू, ठूला प्रकारका साधन बाहेक सामान्य साधन र औजार प्रयोग गरी सडक आवागमनमा अवरोध हुने झाडी, रूखका हाँगा, लहरा लगायत फोहोर हटाइ सरसफाइ गर्नू, निजी जग्गाधनीको जग्गामा लगाएको रूख, लहरा, झाडीबाट सडक अवरोध भएको देखिइ सो हटाउनुपर्ने भएमा सम्बन्धित धनीलाई उपयुक्त अवधि किटान गरी स्वयंलाई हटाउने मौका दिनू, निजले तोकिएको अवधिमा नहटाएमा जग्गाधनीलाई जानकारी दिएर माथि उल्लेख गरिए अनुरूप हुने गरी सडक सरसफाइ गर्नू/गराउनू।'