बेल्जियमका लागि प्रस्तावित राजदूत एवम् परराष्ट्र सचिव सेवा लम्सालविरूद्ध संसदीय सुनुवाइ समितिमा इसरायलका कार्यवाहक राजदूत कुमारबहादुर श्रेष्ठले उजुरी दिएका छन्।
श्रेष्ठले आफूले मागेको स्थानमा सरूवा नगरिदिएको र पक्षपातपूर्ण व्यवहार गरिएको लम्सालमाथि आरोप लगाएका छन्।
तेल अविवमा रहेका कार्यवाहक राजदूत कुमारबहादुर श्रेष्ठले उजुरीमा आफूले तेल अविवबाट अमेरिकाको वासिंटन डिसीमा सरूवा माग गरे पनि नपाएको उल्लेख गरेका छन्। श्रेष्ठले आफूले सरूवा माग गरेर परराष्ट्र सचिवलाई पठाएको पत्रका प्रतिलिपीहरू पनि समितिमा बुझाएका छन्।
साथै आफू इसरायलमा रहेका बखत कार्यक्षेत्र पर्ने साइप्रसमा जान नदिएको पनि उनले उल्लेख गरेका छन्।
'साइप्रसमा वर्षमा २ पटक जानुपर्ने भए पनि सहमति दिइएन', श्रेष्ठले उजुरीमा लेखेका छन्, 'अन्य देशका नियोग प्रमुखहरूले सहमति पाउँदा मलाई किन रोकियो।'
उनले सेवा लम्साल सरूवा समितिको संयोजक भएका बेला पनि आफूलाई 'ग' वर्गको द्वन्द्वग्रस्त मुलुक इसरायलमै राखिएको भन्दै आपत्ति जनाएका छन्।
उनले उजुरीमा लेखेका छन्- 'राजा पृथ्वीनारायण शाहले यो नेपाल राज्यको एकीकरण इलिट वर्गको समृद्धिको लागि मात्र निर्माण गरेको होइनन्।'
सरकारले परराष्ट्र सचिव लम्साललाई बेल्जियमका लागि राजदूतमा सिफारिस गरेको छ। लम्सालविरूद्ध संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको थियो।