गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चाडवाड र विपद्का बेला नागरिकलाई सहज सेवा दिन पोखरामा सञ्चालित एयरलाइन्स कम्पनीहरूलाई निर्देशन दिएका छन्।
पोखराबाट काठमाडौंको भाडा बढाएको र हवाई यात्रामा सास्ती भोग्नुपरेको नागरिकले गुनासो गरेपछि मुख्यमन्त्री पाण्डेले पोखराबाट सेवा सञ्चालन गर्ने एअरलाइन्स र नागरिक उड्ययन प्राधिकरणको प्रतिनिधिलाई सोमबार मुख्यमन्त्री कार्यालय बोलाएर सेवा सहज बनाउन निर्देशन दिएका हुन्।
‘चाडपर्वको समय छ, अहिले विपद्का कारण राजमार्ग अवरूद्ध छन् यस्तो समयमा सेवा सरल, सहज र सहुलियत बनाउनुपर्छ,’ मुख्यमन्त्री पाण्डेले भने, ‘यो संवेदनशील हुने बेला हो, मौका छोप्ने बेला होइन।’
पोखरासहित गण्डकी प्रदेशका विभिन्न जिल्लाका मुख्य सडक वर्षापछिको बाढी पहिरोले क्षति पुर्याउँदा यातायात सञ्चालन असहज बनेको छ। पृथ्वीराजमार्गका विभिन्न ठाउँ अवरूद्ध हुँदा काठमाण्डौं–पोखरा हवाई यात्रामा चाप बढेको छ।
यात्रुहरूको गुनासो बढेको बताउँदै मुख्यमन्त्री पाण्डेले एयरलाइन्स कम्पनीहरूलाई माथिल्लो तहमा सहजीकरण गरेर तत्काल गुनासो सुनुवाइ गर्न सुझाए।
‘एयरलाइन्स कम्पनी, नागरिक उड्ययन प्राधिकरण, संघीय सरकार मातहतका निकायमा सहजीकरण पनि गरूँला,’ मुख्यमन्त्री पाण्डेले भने, ‘तपाईंहरूले यहाँबाट आफूले सक्ने सहजीकरण गर्नुहोस्।’
यस अघि पोखरा–काठमाण्डौं भाडा चार हजार चार सय रुपैयाँ भएकोमा अहिले पाँच हजार नौ सयसम्म पुगेको छ।
सेवा सहज बनाउनेबारे मुख्यमन्त्री कार्यालयमा सोमबार आयोजित छलफलमा मुख्यमन्त्री पाण्डेले नागरिक उड्ययन प्राधिकरणलाई पनि सेवा सहज बनाउन सहजीकरण गर्न सुझाए।
‘चाडपर्वको बेला सकेसम्म फ्लाइट थपेर सेवालाई अझै सहज बनाउनुपर्छ,’ मुख्यमन्त्री पाण्डेले भने।
आइतबार काठमाडौंबाट पोखराका लागि उडेको जहाज लामो समय होल्ड गरी राति ११ः३० बजे पुन काठमाडौं फर्किएको थियो। यस्तो अवस्थामा यात्रुलाई समयमै जानकारी दिन एअरलाइन्सहरूलाई सचेत गराएका थिए।
विपद्को समयमा सेवा दिँदै आएका कम्पनीहरूलाई नागरिक उड्ययन प्राधिकरणले सहुलीयतका लागि पनि ध्यान दिनुपर्ने उनको भनाइ थियो।
एरलाइन्स कम्पनीहरूले ‘सिस्टम कन्ट्रोल’ यहाँबाट नहुँने हुँदा यसबारे केन्द्रिय कार्यालयसँग समन्वय गरी सेवालाई सक्दो सहज बनाउने बताए। पोखरामा यति, बुद्ध, श्री एरलाइन्सले सेवा दिँदै आएका छन्।