नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेपालले चीन र भारतबाट फाइदा लिनसके मुलुक विकास गर्न समय नलाग्ने बताएका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भारत विश्वकै तेस्रो र चीन पहिलो ठूलो अर्थतन्त्र भएको मुलुक बन्दै गरेको भन्दै यसको फाइदा नेपालले लिन सक्नुपर्ने उल्लेख गरेका हुन्।
‘चीन र भारतलाई मात्रै पनि राम्रोसँग हामीले क्याचअप गर्नसक्यौं भने विश्वको जनसंख्याको झन्डै तीन अर्ब जनसंख्या हामीसँग छ। यसको मात्रै प्रयोग राम्रोसँग गर्नसके नेपाल विकसित मुलुकमा लैजान समय लाग्दैन,’ उनले भने।
दुई छिमेकी देशहरू ठूलो अर्थतन्त्र भएको मुलुक बन्दै गर्दा नेपालले त्यसको फाइदा लिनुपर्ने र दुई देशबाट फाइदा लिनसक्ने क्षमता नेपालीहरूमा हुनुपर्ने बताए।
उनले क्यापिटलिजम र सोसलिजमलाई व्यवस्थित गरेर मात्रै देश समृद्ध बनाउन सकिने पनि बताए।
नेपालले चीन र भारतलाई मात्रै पनि राम्रोसँग समात्नसके विकसित मुलुकमा नेपाललाई लैजानका लागि समय नलाग्ने उनको विश्वास छ।
उपाध्यक्ष पाण्डेले निजी क्षेत्रलाई एक भएर लगानी बढाउन आग्रह समेत गरे। —न्युज एजेन्सी नेपाल