राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई भेटेका छन्।
अध्यक्ष प्रचण्डलाई भेट्न निवास खुमलटारमा मिश्र पुगेका हुन्।
भेटवार्ताबारे मिश्रले सामाजिक सञ्जाल फेसबुकबाट जानकारी गराएका छन् भने दुई जनाबीच भएको कुराकानी पनि उल्लेख गरेका छन्।
‘प्रचण्डसँग मनका कुरा, हिजो कार्यक्रममा भेट भयो। आज प्रचण्ड निवासमा भेट भयो। अब देश यस्तो विन्दुमा पुग्यो कि राजसंस्थालाई पुनर्स्थापित नगर्ने हो भने यो देश 'विस्फोटनको अवस्था' तिर उन्मुख हुँदैछ। र त्यतिबेला तपाईंहरूको 'अग्रगमन', नाम र सालिक केही बाँकी रहने छैन,’ प्रचण्डसँग आफूले गरेका कुराकानीबारे मिश्रले लेखेका छन्।
प्रचण्डले अर्थपूर्ण अभिव्यक्ति दिएको पनि मिश्रको भनाइ छ।
‘यही स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा म पनि पुगिसकेँ। आजभोलि प्रशिक्षणमा यही भनिरहेको छु। पछिल्लो पटक प्रधानमन्त्री हुँदा नेपालका उद्योग धन्दाहरूको सबै विवरण मागेर हेरेको त पञ्चायतकालमा धेरै राम्रो काम भएको रहेछ। राजा महेन्द्र त गज्जबका 'भिजनरी' राजा रहेछन्,’ प्रचण्डका भनाइ भन्दै मिश्रले लेखेका छन्।