सांसदहरूले जनगणनामा कोही पनि नछुटून् भन्ने कुरामा सचेत हुन सरकारलाई आग्रह गरेका छन्।
सोमबार प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै नेपाली कांग्रेसकी सांसद जावेदा खातुन जागा, नेकपा (एमाले) का सांसद ईश्वरबहादुर रिजालले जनगणनालाई तथ्यपरक बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन्।
कांग्रेस सांसद खातुनले जनगणनामा कोही पनि नछुटून् भन्ने कुरामा सरकार गम्भीर नबन्दा धेरै नागरिकहरूले आफ्नो उपस्थिति राज्यमा देखाउन सक्ने अवस्था नभएको बताइन्।
उनले मुस्लिम समुदायको समेत गणना तथ्यपरक नभएको जिकिर गर्दै त्यसतर्फ सरकारलाई ध्यान दिन पनि आग्रह गरिन्।
जनगणना तथ्यपरक नहुँदा पछाडि परेका विभिन्न जाति र समुदायका नागरिकहरूले राज्यले दिने अवसरबाट समेत वञ्चित हुनुपरेको सांसद खातुनको भनाइ थियो।
उनले भनिन्, ‘यस्तो समुदायहरू छन् जो राज्यको मूल प्रवाहीकरणमा आउन सकिरहेका छैनन्। उनीहरूको तथ्यांक ल्याउनुपर्यो। उनीहरूको जनगणना छुटाउनु हुन्न। यौनिक अल्पसंख्यक जनसमुदाय अझै पनि लुकेर बसेको अवस्था छ। उनीहरूले राज्यको कुनै पनि सेवा सुविधा पाइराखेको अवस्था छैन। उनीहरूलाई न कुनै जातीय सूचीमा गाभिएको छ। न तथ्यांक कार्यालयले उहाँहरूलाई समेटेको अवस्था छ। मुस्लिम समुदायको यकिन तथ्यांक आएको छैन। यसमा पनि सरकारले विशेष ध्यान दिनुपर्दछ।’
एमालेका सांसद रिजालले विपदमा परेका बस्तीहरूको तथ्यांक ल्याउन सरकारलाई दबाब दिए।
उनले जलवायु परिवर्तनका कारण बस्तीमा जोखिममा पर्ने गरेकाले उनीहरूको सुरक्षाका लागि पनि सरकारले ती ठाउँहरूको गणना गर्न ढिलाइ गर्न नहुने बताए।
सांसद रिजालले नागरिकको पहिचान गर्ने र उनीहरूको आवश्यकतालाई सम्बोधन गर्ने नीति, कार्यक्रम र बजेट तय गर्न पनि जनगणनालाई भरपर्दो र विश्वसनीय बनाउनुपर्ने आवश्यकता औंल्याए।
उनले भने, ‘कति ठाउँ असुरक्षित बस्ती छ पहाड र हिमालहरूमा? मान्छेलाई बस्न रहर हुँदाहुँदै उसले आफ्नो गाउँ छाड्नुपरेको छ। अर्कोको गाउँमा गएर बस्नुपर्ने अवस्था छ। पहाड छोड्यो, सहर आयो। सहर पनि बस्न नसक्ने भएपछि विदेशतिर जानुपर्ने अवस्था छ। यस्तो खालको अवस्थामा अलि बढी ध्यान दिनुपर्यो।’
सांसद रिजालले विभिन्न सीप, कला जानेहरूलाई पनि साक्षरता भनेर दर्ज गर्न पनि सरकारलाई सुझाव दिए। —न्युज एजेन्सी नेपाल