नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई अझै बढी जनताको समर्थन आवश्यक रहेको बताएका छन्।
सभापति देउवाले यो देशको मालिक जनता भएको बताए।
‘जनता यो देशको मालिक हो त्यसैले सार्वभौम सम्पन्न जनता भनिएको हो। जनताको समर्थन अत्यन्त आवश्यक हुन्छ,’ पार्टी कार्यालय सानेपामा आइतबार भएको मिश्रित निर्वाचन प्रणालीबारेको छलफलमा बोल्दै सभापति देउवाले भने, ‘कांग्रेसलाई अझ बढी जनताको पार्टी र उत्तरदायी पार्टी बनाउने काममा लाग्नुपर्छ।’
उनले जनताको समर्थन बढ्दै गएमा आमचुनावमा कांग्रेसले एक्लै बहुमत ल्याउने पनि बताए।
‘कांग्रेसलाई अझ बढी जनताको पार्टी, उत्तरदायी पार्टी बनाउने काममा अहिलेदेखि नै लागे भोलिका दिनमा एक्लैले पनि बहुमत ल्याउँछ,’ सभापति देउवाले भने, ‘अहिलेको अवस्थामा एउटै पार्टीको बहुमत आउन धेरै गाह्रो छ। यो वास्तविकता हो।’
उनले देश समावेशी, समानुपातिकको आधारमा समाजलाई लैजाने दिशामा अघि बढिरहेको पनि बताए।
समानुपातिक र प्रत्यक्ष निर्वाचनको सम्बन्धमा केही समस्या रहेको भए पनि समावेशी अति आवश्यक रहेको उनको भनाइ छ।
देशमा समावेशी प्रणाली मात्रै नभइ समावेशी समाज रहेको सभापति देउवाले बताए। समावेशीतालाई अझ बढी पारदर्शी र उत्तरदायी बनाउनुपर्ने उनले बताएका छन्।
सभापति देउवाले समावेशीतालाई अझ बढी पारदर्शी, जनताको विश्वास प्राप्त गर्ने प्रणाली बनउन जरुरी रहेको पनि बताए।
(न्युज एजेन्सी नेपाल)