राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मनिष झाले नेपाली कांग्रेस र नेकपा (एमाले) लाई थ्रेसहोल्ड कट्न नदिने अभियानमा आफूहरू लागेको बताएका छन्।
उनले १० प्रतिशत थ्रेसहोल्ड राख्ने कुरा आइरहेको बताउँदै त्यसमा रास्वपालाई खासै आपत्ति नरहेको पनि बताए।
‘हामी आकलनको भरमा थ्रेसहोल्ड ल्याउँदैछ रे भनेर व्याख्या गर्दैनौं, संयुक्त दस्ताबेज आएको छ र? संयुक्त प्रतिवेदन आएको छ र? छैन नि!,’ न्युज एजेन्सी नेपालसँगको कुराकानीमा रास्वपा सांसदसमेत रहेका झाले भने, ‘उहाँहरूले १० प्रतिशत थ्रेसहोल्ड लिएर आउनु हुन्छ भने पनि हामीलाई खासै फरक पर्दैन। किनभने पहिलो चुनावमै १३ प्रतिशत लिएर आएको हो हामी, त्यसमा हामी चिन्तित छैनौं।’
उनले संविधान संशोधनमा पनि स्पष्ट प्रस्ताव आइनसकेको बताए।
‘संविधान संशोधन यो कुरामा यसकारण गर्ने भनेर उहाँहरूले स्पष्ट रूपमा कारण देखाउनुपर्यो, अहिले संविधान संशोधन आवश्यक छ कि छैन, कुन बुँदामा छ भन्ने कुरा म अहिले व्याख्या गर्न चाहन्न,’ उनले भने, ‘उहाँहरूले स्पष्ट प्रस्ताव नै ल्याउनु भएको छैन। संशोधन गर्नुको उद्देश्य, कारणसहित जब उहाँहरूले ल्याउनुहुन्छ, सदनमा, समितिमा, राजनीतिक संयन्त्रमा अनि त्यसपछि हाम्रो अभिमत दिने हो।’