नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनको विपक्षमा आफूहरू नरहेको बताएका छन्।
तर संशोधनका नाममा जनताको हकअधिकार र प्राप्त उलब्धिलाई मास्ने काम माओवादी पार्टीलाई सह्य नहुने उनले बताए।
विराटनगर विमानस्थलमा आइतबार बिहान पत्रकारसँग कुराकानी गर्दै उनले उत्पीडित वर्ग र समुदायका उत्थानका लागि ल्याइएको समानुपातिक एवं समावेशी व्यवस्था हटाउने भनिएको कुरा कदापि मान्य नहुने बताए।
अध्यक्ष प्रचण्डले माओवादीले सुरु गरेको जनयुद्धबाट नै मधेसी, दलित, मुस्लिम, आदिवासी र जनजातिको अधिकार स्थापित भएको प्रष्ट पारे।
भ्रष्टाचारी एवं विचौलियालाई कारबाही प्रक्रिया सुरु गरेपछि आफ्नो नेतृत्वको सरकार सत्ताबाट बाहिरिएको पुनः दोहोर्याए।
‘माओवादी पार्टी सत्ताबाट बाहिरिएपछि देशव्यापी रुपमा पार्टीको सङ्गठन विस्तार, सुदृढीकरण र पुनःनिर्माणमा गर्न पार्टीलाई अवसर प्राप्त भएको छ,’ उनले भने।
पार्टी सुदृढीकरण अभियानमा साथ दिन अध्यक्ष प्रचण्डले सबै नेता कार्यकर्ताहरूलाई अनुरोध समेत गरेका छन्।
बहुमतका नाममा जथाभावी गर्ने छुट कोही कसैलाई नरहेको स्पष्ट गर्दै उनले मुलुक र जनता विरोधी काम नगर्न सरकारलाई चेतावनी दिए।