प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीलाई प्रयोग नगरी नेताहरूले भ्रष्टाचार गर्न नसक्ने बताएका छन्।
शनिबार निजामती सेवा दिवसका अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कर्मचारी प्रयोग नभई नेताहरूले भ्रष्टाचार गर्न नसक्ने भएकाले कतै प्रयोग नहुन कर्मचारीहरूलाई निर्देशन पनि दिए।
‘तपाईँहरु कतै प्रयोग नहुनुस् । भ्रष्टाचार जस्तो दुष्कर्ममा सहभागी नहुनुस् । तपाईँहरुलाई प्रयोग नगरी नेताहरुले पनि भ्रष्टाचार गर्न सक्दैनन् । भ्रष्टाचार गर्ने नेताहरुको रेकर्ड राख्नुस्,’ प्रधानमन्त्री ओलीले भने।
प्रधानमन्त्री ओलीले आफू पनि भ्रष्टाचार नगर्ने र अरूलाई पनि भ्रष्टाचार गर्न नदिने पुनः दोहोर्याए। नेपाललाई हर तरहरले समृद्ध बनाउन सबैले आ-आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताए।
‘भाषणमा एउटा र व्यवहारमा अर्को काम गर्ने नेताहरुले ठूला कुरा गर्दा अरु केही गर्न नसके पनि चिन्या छु भनेर मुसुक्क हाँसिदिनुस्,’ कर्मचारीहरूलाई प्रधानमन्त्री ओलीले थप नर्देशन दिँदै भने।
उनले राज्यबाट जनतालाई दिइने सेवामा कुनै कारणले विलम्ब र आलटान नगर्न पनि निर्देशन दिए। प्रधानमन्त्री ओलीले जनतालाई दुःख नदिइ सकारात्मक अनुभूति दिएर हाम्रा छोराछोरीलाई देशभित्र बस्न लायक बनाउनु सबैको दायित्व भएको बताए। उनले नेपाली संस्कारभित्र सेवा र पवित्रताको भाव रहेकाले संविधान र कानुनका व्यवस्थाका साथै इमान, कर्तव्य र नैतिकताको बन्धनलाई ध्यानमा राखेर काम गर्न आग्रह गरे।
प्रधानमन्त्री ओलीले वर्तमान सरकार देशमा परिवर्तनको नायकत्व लिएका पार्टीहरुको समेत सरकार भएकाले यसले निजामती सेवा विधेयकलगायत महत्वपूर्ण विधेयकलाई छिटो पारितका लागि छलफल प्रक्रिया थाल्ने बताए।
उनले सरकार ट्रेड युनियन अधिकारलाई सम्मान गर्नुपर्छ भन्नेमा आफू स्पष्ट रहेको बताउनुभयो । उनले अधिकार छ भन्दैमा दुई चार जना गएर तालाबन्दी गर्ने, सेवा प्रभावित पार्ने, अत्यावश्यक क्षेत्रमा हडताल गर्ने जस्ता काम उचित नहुने बताए।
‘अहिले नियोजित रुपमा अराजकता सृजना गर्ने र सरकारविरुद्ध हल्ला चलाउन खोजिएको छ । वास्तवमा यस्तो विरोध नेपाली संस्कारभित्र पर्दैन,’ उनले भने।
प्रधानमन्त्री ओलीले विगतमा कर्मचारीको उत्साह थप्न आफूले एकै पटक २५ प्रतिशत तलब वृद्धि गरे पनि हाल मुलुकको आर्थिक अवस्था कमजोर भएकाले आर्थिक सबलीकरणका लागि सबै लागेमा स्थिति सहज हुने बताए।