संविधान संशोधनबारे सरोकारवालासँग छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले कार्यदल बनाएको छ।
बुधबार र बिहीबार बसेको पदाधिकारी बैठकले संविधान संशोधनबारे छलफल गर्न नेता लक्ष्मणलाल कर्णको नेतृत्वमा कार्यदल बनाएको हो।
कार्यदलमा दानबहादुर विश्वकर्मा र परमेश्वर साह सदस्य छन्।
‘मधेसको आवाजलाई सम्बोधन गर्न, मधेस आन्दोलनको मर्म र भावनालाई संविधानमा लिपिवद्ध गर्न हामीले संशोधनको आवाज उठाइरहेका छौं। संविधान संशोधनको आवश्यकता सरकारले यसअघि पनि महसुस गरेको हो। सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा लगेको पनि थियो। पास हुन सकेन। हामीले गैरसरकारी माध्यमबाट पनि प्रस्ताव लैजान खोजेका थियौं। संसदमा पुगेन। अहिले सरकारले के सोचिरहेको छ, त्यो उसको कुरा भयो। हामीले सरोकारवाला पक्षका बीचमा छलफल गराउन खोजेका छौं,’ कार्यदलका संयोजक कर्णले भने।
उनले मधेस आन्दोलनका सबै पक्षसँग छलफल गरेर संविधान संशोधनमा साझा धारणा तय गर्न लोसपाले पहल गर्ने पनि बताए।
‘हामी मधेस आन्दोलनदेखि नै यो कुरा उठाइरहेका छौं, सरकारले आफ्ना कुरा भनेको छैन। तर हामी छलफल चलाउन खोजिरहेका छौं,’ उनले भने।
गत असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले) बीच ७ बुँदे सहमति हुँदा संविधान संशोधन गर्ने विषय पनि समावेश गरिएको थियो।