सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषदको बिहीबारको बैठकले दूरसञ्चार कम्पनीको प्रबन्ध निर्देशकमा अर्याललाई नियुक्त गर्ने निर्णय गरेको सरकार प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
साथै रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामालाई नियुक्त गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ।
मन्त्रिपरिषदको बैठकले काठमाडौं-तराई-मधेस द्रुतमार्ग सडक आयोजना निर्माणका लागि मकवानपुरमा राष्ट्रिय वनको ५१.८७१ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ।
यस्तै भुमही-हकोइ १३२ केभी प्रशारणलाइन आयोजना निर्माणका लागि नवलपरासीमा राष्ट्रिय वन क्षेत्रको १२.६७८५ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ।
माथिल्लो मोवाखोला ए जलविद्युत आयोजना निर्माणको लागि ताप्लेजुङमा राष्ट्रिय वनको ३.२१ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय पनि सरकारले गरेको छ।