प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा निजामती विधेयकबारे सैद्धान्तिक छलफल सुरू भएको छ।
बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे छलफल सुरू भएको हो।
बैठकमा बोल्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले विधेयक पारित गर्न उच्च राजनीतिक तहमा छलफल गरिने बताए।
उनकाअनुसार विधेयकमा एक हजार पाँच सय ८३ वटा संशोधन प्रस्ताव छन्।
संशोधनमाथि छलफल गर्दा छलफलमै दुई वर्ष बित्न सक्ने भन्दै उनले उच्च राजनीतिक तहसँग समन्वय गरेर निर्देशन लिने बताए।
यस विधेयकलाई प्राथमिकतामा राखेर अगाडि बढाउन उनले समितिलाई आग्रह गरेका छन्। ‘यो विधेयकमा धेरै संशोधन भएकोले हामी उच्च राजनीतिक तहमा समन्वय गर्छौं,’ उनले भने।