दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत शिवमाया तुम्वाहाङ्फेको संसदीय सुनुवाइ भएको छ।
बुधबार सिंहदरबारस्थित संसदीय समितिको जारी बैठकमा उनले कार्यपत्र प्रस्तुत गरेकी छन्।
इमानदार र मेहनती श्रमिकको मान्यता पाएका नेपाली श्रमिकको छवि कोरियामा राम्रो देखिएको भन्दै आगामी दिनमा कामदारको कोटा वृद्धिका लागि आवश्यक पहल गर्ने बताइन्।
‘नेपाली श्रमिकको आकर्षक रोजगार गन्तव्य मुलुक हो। इमानदार र मेहनती श्रमिकको मान्यता पाएका नेपाली श्रमिकको छवि कोरियामा राम्रो देखिएको छ। करार अवधि सकिएसँगै स्वदेश फर्कने, अवैधानिक बसोबास नगर्ने कारण पनि नेपाली कामदार कोरियाली रोजगारदाताको रोजाइमा छन्। जसका कारण इपिएसमा नेपाली श्रमिकको कोटा बर्सेनि वृद्धि हुँदै आएको छ। इपिएस प्रणालीमा नेपालले दर्शाएको निष्पक्षतालाई अझै प्रचार गर्दै कामदारको कोटा वृद्धिका लागि आवश्यक पहल लिनेछु,’ कार्ययोजनामा उनले भनेकी छन्।
यस्तै उनले 'तनाव व्यवस्थापन' कार्यक्रमलाई प्रभावकारी बनाउन पहल गर्ने बताएकी छन्।
‘मानसिक तनाव, कामको चाप, खानपिन, हावापानी लगायत कारण कोरियामा रहेका नेपाली डिप्रेसनको शिकार हुने गरेको, आत्महत्याका घटनासमेत हुने गरेकाले मानसिक तनाव तथा आत्महत्याको घटना न्यूनीकरणका लागि 'तनाव व्यवस्थापन' कार्यक्रमलाई प्रभावकारी बनाउन पहल गर्नेछु,’ कार्ययोजनामा उल्लेख छ।