दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत कपिलमान श्रेष्ठले नेपाली क्रिकेट संघ (क्यान) र क्रिकेट साउथ अफ्रिकाबीचको सम्बन्ध विस्तारमा भूमिका खेल्ने बताएका छन्।
बुधबार सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिमा जारी बैठकमा उनले कार्यपत्र पेश गरेका छन्।
उनले नेपाली क्रिकेटको गुणस्तर सुधार गर्न आफूले क्यान र क्रिकेट साउथ अफ्रिकाबीच पारस्परिक लाभ हुने गरी सम्बन्ध विस्तार गर्ने बताएका हुन्।
उनले राजदूत भएर तीन चरणमा काम गर्ने पनि कार्यपत्रमा उल्लेख गरेका छन्।
उनले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन समयमा आफूले गर्ने कामहरूबारे कार्यपत्रमा प्रस्तुत गरेका छन्।
अल्पकालीन समय अर्थात् पहिलो ६ महिनामा उनले दक्षिण अफ्रिकी सरकार विशेषगरी विदेश मन्त्रालय र त्यससँग सम्बन्धित अन्य निकायसँग सम्बन्ध विस्तार गर्ने बताए।
त्यसपछिको ६ महिना अर्थात् मध्यकालीन समयमा उनले व्यापार, लगानी, शैक्षिक र सांस्कृतिक आदानप्रदानका विषयमा सम्झौता गर्ने कार्यपत्रमा उल्लेख गरेका छन्।
दक्षिण अफ्रिकी नागरिकलाई नेपाल भ्रमणमा प्रेरित गर्ने योजना पनि रहेको उनले बताए।
राजदूत भएको एक वर्षपछि भने दीर्घकालीन कामहरू गर्ने उनले बताए। दुई पक्षीय सम्बन्धलाई गहिरो बनाउने, नेपाललाई दक्षिण अफ्रिकाको भरपर्दो पार्टनर, पर्यटन प्रवर्द्धन, खेलकुद विशेषगरी क्यान र क्रिकेट साउथ अफ्रिकाको सम्बन्ध विस्तार र पब्लिक डिप्लोमेसीमा काम गर्ने उनले बताए।