नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्नि सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जनयुद्ध’लाई हिंसा भन्नु संविधान विपरीत रहेको बताएका छन्।
बुधबार पार्टीको अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त बैठक समापनपछि पत्रकारहरूसँगको कुराकानीमा पार्टी प्रवक्तासमेत रहेका सापकोटाले सरकार प्रमुखले नै शान्ति सम्झौताविपरीत बोलेको बताएका हुन्।
‘संविधानमा सशस्त्र सङ्घर्ष भनिएको छ। वृहत शान्ति सम्झौतामा पनि सशस्त्र सङ्घर्ष भनिएको छ। बाह्र बुँदे समझदारीको बिरुद्धमा बोल्नुभएको छ। बृहत शान्ति सम्झौताको पनि विरुद्धमा बोल्नुभएको छ। नेकपा हुँदा पनि सशस्त्र सङ्घर्ष भनिएको थियो। यि सबै कुराले आफै सहमत भएको कुरामा फेरि त्यसो भन्नु सरासर बदनीयतपूर्ण छ। अनैतिक छ,’ उनले भने।
उनले ‘जनयुद्ध’बिना मुलुकमा गणतन्त्र नै असम्भव रहेको दाबी समेत गरे।
‘त्यही गणतन्त्र ल्याएर अहिले तीन पटकसम्म प्रधानमन्त्री हुनुभएको छ। यस अर्थमा त्यो भन्दा कृतघ्नताको पराकाष्ठा केही होइन। त्यसकारण उहाँहरु पछाडी फर्किन चाहनुहुन्छ। अग्रगमनतिर होइन। परिवर्तनतिर होइन। यो बोल्नु सर्वथा गलत छ,’ उनले भने।
प्रवक्ता सापकोटाले सरकारको गतिविधिका कारण यो सरकार दलाल पुँजीपति, विचौलिया र माफियाहरुको पक्षमा छ भन्ने स्पष्ट भएको बताए।