रूसका लागि प्रस्तावित राजदूत जंगव चौहानले बिचौलियाहरूको प्रलोभनमा परेर नेपाली युवाहरू युद्धको भूमरीमा परेको बताएका छन्।
संघीय संसदको सुनुवाइ समितिमा बुधबार उनले युद्धमा पुगेका युवाहरूको उद्धारका लागि प्रयास हुनुपर्ने उनले बताए।
‘एउटा जटिल समस्याका रूपमा देखिएको यो विषय सेनासँग सम्बन्धित भएकाले सबै कुरा प्रष्टसँग बाहिर आएको छैन। बिचौलियाहरूको प्रलोभनमा परेर हाम्रा युवाहरू युद्धको भूमरीमा परेका छन्,’ चौहानले भने, ‘तिनिहरूको उद्धारका लागि परराष्ट्र मन्त्रालयले आवश्यक संवाद अघि बढाइरहेको सन्दर्भमा यिनीहरूको उद्धारका लागि हरसंभव प्रयास हुन जरूरी छ।’
उनले नेपाल-रूस सम्बन्धको सुरूवात गौरवशाली रहेता पनि विभिन्न कारणले पछिल्ला वर्षहरूमा निरन्तरता दिन नसकिएको पनि बताएका छन्। यद्यपि दुई देशबीचको फलदायी सम्बन्ध विस्तारका लागि सम्भावनाका ढोकाहरू प्रशस्त रहेको उनले बताए।
नेपाल र रूसबीच उच्चस्तरीय राजनीतिक भेटघाटमा लामो समयदेखि रिक्तता उत्पन्न भएको उनको भनाइ छ।
अब फेरि भेटघाट सुरूवात गर्न पर्ने र त्यसका लागि आफूले पहल गर्ने चौहानले बताए। प्रस्तावित राजदूत चौहानले रूसले नेपाली विद्यार्थीलाई दिँदै आएको छात्रवृत्ति घटाएको र त्यसलाई बढाउन आफूले पहल गर्ने पनि बताएका छन्।