राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले दलहरूका गतिविधि र नागरिकका मनमा उब्जिएका विचार आफूहरूले नजिकबाट नियालिरहेको बताएका छन्।
रास्वपा कोशीको विस्तारित बैठकलाई बुधबार सुनसरीको इटहरीमा सम्बोधन गर्दै लामिछानेले दलहरूको बेथिति र जनआक्रोश बढ्दै जाँदा स्वतः हुने आन्दोलनको अग्रपंक्तिमा रास्वपा रहने समेत बताए।
पुराना दलहरूको बेथिति बढार्न नागरिकको विश्वास रास्वपाप्रति बढिरहेको भन्दै उनले त्यसको आधिकारिक पुष्टि २०८४ सालको संसदीय निर्वाचनले गर्ने बताए।
रास्वपाप्रति विश्वास र अपेक्षा भएअनुसार प्रश्नसमेत रहेको स्वीकार गर्दै उनले सबै प्रश्नको जबाफ कामले नै दिने पनि बताए।
'रास्वपाका कारण देशका दुई ठूला मुख्य प्रतस्पर्धी दल मिलेर सरकार बनाएका छन्। अनि, उनीहरू नै रास्वपा कमजोर भयो भनेर हल्ला पिट्छन्। यो विरोधाभास भयो,' लामिछानेले भने।
विस्तारित बैठकलाई सम्बोधन गर्दै उपसभापति डोलप्रसाद (डिपी) अर्यालले इमानदारपूर्वक संगठन विस्तारमा लाग्दै जनजीविकाका मुद्दासिहत स्थानीय तहको भ्रष्टाचारबारे आवाज उठाउन सदस्यहरूलाई आग्रह गरे।