राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले गौरा पर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा युवाहरूले जनाएको विरोध शुभ संकेत नभएको बताएका छन्।
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोलेका उनले युवाहरूको विरोधलाई सरकारले सकारात्मक रुपमा लिनुपर्ने बताए।
सरकारले आक्रोश देखाउनु गलत भएको उनको भनाइ छ।
सरकारले विरोध गर्ने युवाहरूलाई पक्रेर दमन गर्न नसक्ने पनि उनले बताए।
जनताले अहिलेको व्यवस्था र सरकारमा चित्त नबुझाएको कुरालाई मनन गर्न पनि प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।
‘अस्ति भर्खरै खुल्लामञ्चमा केही युवाहरूले विरोध जनाए। त्यसलाई सरकारले सकारात्मक रुपमा लिनुपर्ने। अथवा हामीले सुध्रिनुपर्ने थुप्रै कुरा रहेछन् भनेर त्यसलाई गम्भिरतापूर्वक लिनुपर्ने ठाउँमा त्यहाँ सरकारको तर्फबाट जुन किसिमको आक्रोश देखियो, म सरकारमा रहनुभएका सबैलाई भन्न चाहन्छु, यो शुभ संकेत होइन,’ उनले भने।
टुँडिखेलमा प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध नाराबाजी भएको थियो।
उनले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई जग्गा उपलब्ध गराउन सरकारसँग माग पनि गरेका छन्।
(न्युज एजेन्सी नेपाल)