नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य आनन्दप्रसाद ढुंगानाले नेकपा (माओवादी) केन्द्रले उठाएको बन्दुकबाट मात्रै अहिलेको परिवर्तन नआएको बताएका छन्।
मंगलबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले बन्दुकबाट अहिलेको परिवर्तन नआएको बताए।
बन्दुक फालेर शान्तिपूर्ण आन्दोलनमा आइसकेपछि मात्रै देशमा गणतन्त्र आएको उनको भनाइ छ।
‘जहाँसम्म अहिले एक जना मित्रले भन्नुभयो, तपाईंले गरेको संघर्षबाट नेपाली जनतालाई के भयो? के पीडा भयो? त्यो त थियो नि! अहिलेको परिस्थितिसम्म पुर्याउँदै गर्दा सम्पूर्ण दलहरूको विचारलाई एक ठाउँमा उभ्याएर राष्ट्र, लोकतन्त्रका लागि, प्रजातन्त्रका लागि एक ठाउँमा उभ्याएर तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला अघि बढ्नुभयो, जसले गर्दा यो परिवर्तन भयो,’ उनले भने।
माओवादीको बन्दुकहरुबाट मात्रै परिवर्तन नआएको उनको दाबी छ।
‘तपाइँले पनि त्यो बन्दुक फालेर शान्तिपूर्ण आन्दोलनमा आउनुपर्यो र त्यो शान्तिपूर्ण आन्दोलनले यो देशमा परिवर्तन ल्यायो। त्यो शान्तिपूर्ण आन्दोलनले देशमा गणतन्त्र ल्यायो,’ उनले भने।
(न्युज एजेन्सी नेपाल)