राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले गण्डकी प्रदेशका सांसद राजिव गुरूङ (दीपक मनाङे) ले दिएको अभिव्यक्तिप्रति प्रतिनिधि सभा बैठकमा प्रश्न उठाएकी छन्।
मन्त्री गुरूङले आफू वन मन्त्री नहुने र उक्त मन्त्रालय बिक्रीमा राखेको अभिव्यक्ति दिएका थिए।
गण्डकीमा मन्त्रिपरिषद पुनर्गठन गर्दा गुरूङलाई भौतिक मन्त्रालयबाट वन मन्त्रालयको जिम्मेवारी दिइएको थियो। उनले यसमा असन्तुष्टि जनाउँदै सोमबार पदबाट राजीनामा दिएका थिए।
राप्रपा सांसद कार्कीले मंगलबारको प्रतिनिधि सभामा गण्डकीमा मन्त्री पद नै लिलामीमा राखेको विषय उठाएकी हुन्।
‘गण्डकी प्रदेशमा त मन्त्रीको पद नै लिलामीमा चढ्यो सभामुख महोदय,’ उनले भनिन्, ‘यो के हो? त्यसकारण राप्रपाले प्रदेश सरकार सेतो हात्ती नपालौं भनेको छ।’
वन मन्त्रालय दिँदा तितेपाती र वनमाराहरू हेर्न जान्न भन्ने अभिव्यक्ति मन्त्रीबाट आएको उनले बताइन्।
‘के वन मन्त्रालयमा तितेपाती र वनमारामात्रै देखिन्छ? यो त एक प्रकारले मन्त्रिपरिषदको पनि अपमान भएको छ,’ उनले भनिन्।
यो पनि: अल्छी लाग्यो भन्दै मन्त्री गुरूङले दिए राजीनामा