पूर्वप्रहरी संगठन प्रमुख मञ्चले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले आइजिपी बसन्तबहादुर कुँवर लक्षित अमर्यादित टिप्पणी गरेको भन्दै कारबाही गर्न माग गरेका छन्।
मञ्चले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै ‘आइजिपीको जिब्रो थुत्नुपर्यो’ भन्ने सञ्चारमन्त्री गुरूङको अभिव्यक्ति अमर्यादित भएको भन्दै कारबाही गर्न माग गरेका हुन्।
यो पनि: सञ्चारमन्त्री गुरूङलाई बर्खास्त गर्न कांग्रेस नेता भण्डारीको माग
‘बहाल तथा पूर्वसुरक्षाकर्मीको मानमर्दन हुने यस प्रकृतिको घटनाका सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई माननीय मन्त्रीज्यूको असंवेदनशील अभिव्यक्तिलाई संज्ञामा लिनु भई आवश्यक कारबाही गर्नुहुन पनि अनुरोध गर्दछौं,’ उनले भने।
त्यस्तै उक्त अभिव्यक्ति फिर्ता लिन, आइजिपी कुँवरसँग क्षमायाचना गर्न र आगामी दिनमा सुरक्षा निकायमाथि टिप्पणी गर्नुपूर्व सचेत रहन पनि मन्त्री गुरूङलाई आग्रह गरेको छ।
मन्त्री गुरूङले शनिबार पोखरामा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आइजिपीको जिब्रो थुत्नुपर्ने भन्दै असंवेदनशील अभिव्यक्ति दिएका थिए।
‘धेरै अवरोध गर्ने त्यही क्षेत्रका मान्छेहरू हुन्। प्रहरीको आइजिपीले के भन्नु भो? म यो कानुन लागू नै गर्दिनँ भन्नुहुन्छ। त्यस्तो बोल्न पाउने कि नपाउने? त्यसको जिब्रो थुत्नुपर्थ्यो, मैले भन्दाखेरी,’ उनले भने, ‘सरकारको नीतिको, व्यवस्थाको विरूद्धमा एउटा संस्थाको प्रमुखले बोल्न पाउँदैन नि। प्रहरी ऐन ल्याउँदै ल्याउँदिनँ भन्ने टाइपको बोल्यो रे भन्ने सुनेको मैले है।’