परराष्ट्रमन्त्री आरजु राणा देउवाले राजदूत सिफारिस समावेशी नभएकोमा माफी मागेकी छन्।
मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बोल्दै राजदूत सिफारिस समावेशी नभएको भन्दै माफी मागेकी हुन्।
‘राजदूत नियुक्ति समावेशी भएन। अर्को नियुक्तिमा दलित र मुस्लिमलाई ल्याउने छौं,’ उनले भनिन्, ‘यसपटक आएन आई-एम सरी।’
उनले शंकर शर्मालाई पुन: राजदूत नियुक्ति गरेको कारणबारे पनि स्पष्टीकरण दिएकी छन्।
‘भारतमा शर्मालाई हामीले कार्यदक्षताका कारण फेरि नियुक्त गरेका हौं। पहिलोले बनायो दोस्रो सरकारले हटायो तेस्रोले फेरि नियुक्त गरेको हो,’ उनले भनिन्।
त्यसैगरी समितिमा भारत भ्रमणमा के-के उपलब्धी भए भनेर सदस्यहरूले प्रश्न गरेका थिए। त्यसबारे जवाफ दिँदै आफ्नो भारत भ्रमण ‘गुडविल भिजिट’ भएको बताइन्।
‘भ्रमण गुडविल भिजिटमात्रै थियो। कुनै कुरा टुंगो लगाएर साइन गर्ने मेरो अधिकार हुँदैन। मेरो मुख्य उद्देश्य दुई पक्षीय संयन्त्रहरूलाई कसरी क्रियाशिल बनाउने भन्नेबारेमा मेरो ध्यान केन्द्रित थियो,’ उनले भनिन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले एयर रूटबारे के कुराकानी भयो भनेर प्रश्न गरेका थिए।
त्यसबारे मन्त्री राणाले जबाफमा भनिन्, ‘दुई वटा एयर रूटका बारेमा किटानीसाथ राखेका छौं। त्यसमा टेक्निकल टिमले छलफल गर्ने कुरा भएको छ। पञ्चेश्वर पनि लगभग अन्तिम चरणमा भयो भन्ने छ। बाउन्ड्री वर्किङ ग्रुपको पनि हामीले कुरा राखेका छौं। हामीले कुरा राखेका मात्रै हौं।’
‘इपिजी दुबै देशले बनाएको रिपोर्ट हो। उपयुक्त समयमा प्रतिवेदनमा आवश्यक छलफल हुन्छ होला भन्नेमा आशावादी छु। यस पटकको छलफलमा हामीले इपिजीबारे कुरा उठाएनौं,’ उनले थपिन्।
त्यसैगरी बंगलादेशसँगको बिजुली व्यापारका विषयमा पनि बंगलादेशी राजदूतसँग कुराकानी भएको मन्त्री राणाले बताइन्। उनले यस सम्झौता चाँडै हुने अपेक्षा गरेको बताइन्।
सांसद खनालले चीनसँग गरिने हरेक सम्झौता बिआरआई अन्तर्गत हो भनेर प्रश्न गरेका थिए। त्यसबारे चीनसँग भएका चारै वटा सम्झौता ग्रान्ट प्रोजेक्ट अन्तर्गत भएको बताइन्।