संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको सोमबारको बैठकमा नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधि र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालबीच घोचपेच भएको छ।
निधिले परराष्ट्र मन्त्री आरजु राणा देउवालाई भारत भ्रमणका क्रममा प्रधानमन्त्रीसरहको स्वागत भएको बताए। परराष्ट्र मन्त्री राणाले गत २ गतेदेखि ६ गतेसम्म भारतको भ्रमण गरेकी थिइन्।
‘भारत भ्रमणबारे मेरो प्रश्न छैन, उहाँलाई बधाई र धन्यवाद दिन्छु। भारत भ्रमणमा जसरी भारत सरकारले तर्फबाट उच्च मर्यादा र गरिमा प्रदान गरियो। परराष्ट्र मन्त्रीले भारतमा प्रधानमन्त्री सरहको स्वागत पाउनुभयो,’ निधिले भने, ‘प्रधानमन्त्रीको भेट काठममाडौंबाट उड्ने बेलामै हुन्छ कि हुन्न भनेर टुंगो लागेको हुन्छ। तर मलाई लागेको थियो- भारतको छिमेकी पहिलो नीतिले विदेशमन्त्रीको भ्रमणलाई उच्च मर्यादा दियो। यो सन्देशमुलक थियो। नेपाल र भारतबीचमा भइरहेको शंका उपशंकाको कथा आइरहेको सन्दर्भमा उहाँहरूको भेटघाट हुँदा शंका निवारण भएको छ। हामीले यसलाई अझै सुदृढ कसरी बनाउने भन्ने तिर लाग्नुपर्छ।’
निधिले यसो भनेपछि नेमकिपाका सांसद सुवालले परराष्ट्र मन्त्री राणालाई प्रधानमन्त्रीसरहको स्वागत भारतले गरेको भनेर चर्चा गर्ने गरिएको प्रसंगमा कुरा राखे। ‘तर विर्सन हुन्न लेन्डुप दोर्जेलाई भारतले रातो कार्पेट ओछ्याएर सिक्किम खाएको थियो,’ सुवालले भने।
यस्तै नेकपा (एमाले) का सांसद भीम आचार्यले परराष्ट्र मन्त्रीको भारत भ्रमणले के उपलब्धि भयो भन्ने प्रश्न गरेका छन्।
‘कुन परियोजनाले ब्रेक थ्रु गर्यो? त्यो चाहियो। पन्चेश्वरको विषयमा ठोस कुरा के भयो?,’ आचार्यले भने, ‘भ्रमणका क्रममा हात भेटवार्ता भएको र हात मिलाएको मात्रै प्रचार हुन्छ। यो प्रचार गरिनु ठूलो कुरा हैन। के भयो विषय महत्त्वपूर्ण कुरा हो।’
यो पनि: भारतीय प्रधानमन्त्री मोदीले नेपाल भ्रमणका लागि सकारात्मक जबाफ दिनुभएको छ: परराष्ट्रमन्त्री राणा