प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले हालै पोखरा पुगेर दिएको अभिव्यक्तिबारे चासो देखाउँदै यसबारे प्रष्ट पार्न भनेका छन्।
मन्त्री गुरूङले गत शनिबार पोखरामा भएको पत्रकार सम्मेलनमा बोल्दै 'आइजिपीको जिब्रो थुत्नुपर्ने' अभिव्यक्ति दिएका थिए। मन्त्री गुरूङले अराजक अभिव्यक्ति दिएको भन्दै आलोचना भइरहेको छ।
प्रधानमन्त्री ओलीले सार्वजनिक अभिव्यक्ति दिँदा ध्यान दिनुपर्ने भन्दै मन्त्री गुरूङलाई सचेत गराएका छन्। यो कुरा मन्त्री गुरूङले सोमबार राष्ट्रिय समाचार समितिले गरेको कार्यक्रममा आफै उप्काएका हुन्।
मन्त्री गुरूङले पोखरामा भएको पत्रकार सम्मेलनमा पत्रकारको प्रश्नमा जबाफ दिने क्रममा आफूले नेपाल प्रहरीको प्रमुखका सम्बन्धमा विगतका सन्दर्भमा मात्रै उल्लेख गरेको दाबी गरेका छन्। सङ्घीयताको कार्यान्वयनमा राज्यका सबै निकायले सहयोग गर्नुपर्ने भन्दै आफूले त्यस्तो अभिव्यक्ति दिन पुगेको उनको भनाइ थियो।
प्रधानमन्त्री ओलीले मन्त्री गुरूङलाई सरकार प्रवक्ता पनि भएको हुनाले बोल्दा सचेत हुन आग्रह गरेका थिए।
साथै उनले राससले नेपाली भाषामा २४ घण्टा समाचार सेवा शुभारम्भ गरेर महत्वपूर्ण फड्को मारेको बताए।