इसराइलका राजदूत पदमा नियुक्तिका लागि सिफारिस भएका प्राध्यापक धनप्रसाद पण्डितले प्यालेस्टाइनलाई बाँच्न दिनुपर्ने टिप्पणी गरेका छन्।
संसदीय सुनुवाइका क्रममा आफ्नो कार्ययोजनाबारे बताउने क्रममा उनले संस्कृतको श्लोक वाचन गर्दै भने 'तिमी (इसराइल) स्वतन्त्र राष्ट्र छौ भने प्यालेस्टाइनलाई पनि बाँच्न देऊ', पण्डितले भने, 'लडाइँ कम गर, बन्द गर भन्ने सुझाव दिन तपाईं (देश) को प्रतिनिधि तयार हुनेछ।'
उनले समितिमा संस्कृतको श्लोक पढ्दै आफूले इसराइललाई - 'संसारमा ईश्वर व्याप्त छ। मेरो मात्र हो भन्ने नठानौं' भन्ने सन्देश दिने बताए। उनले पूर्वीय दर्शन र चाणक्य नीति र कृष्ण नीतिलाई ध्यान दिएर आफूले काम गर्ने बताए।
सुनुवाइमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले विगतमा इसराइलले नेपाली सेनालाई प्याराजम्पिङको तालिममा सहयोग गरे पनि अहिले रोकिएकाले त्यस्ता कामका लागि आफूले काम गर्ने बताए।
साथै, अहिले सरकारी तहबाट नेपाली महिलाहरू घरेलु सहयोगीको रूपमा इसराइल जान दर घटेको र दलालमार्फत् जाने गरेकाले त्यस क्षेत्रमा आफूले काम गर्ने बताए।
प्राध्यापक पण्डितले आफूले डेनिस राजदूतलाई घरमा बोलाएर खाना खुवाएर पद्मकन्या क्याम्पसको भवन बनाउन १ करोड ३३ लाख सहयोग जुटाएको उल्लेख गरे।
त्यस्तै, विश्वभाषा क्याम्पसको भवन निर्माण गर्न आफूले विदेशी विद्यार्थीको शुल्क बढाएको उल्लेख गरे। यी दुबै काम आफ्नो जीवनको सबैभन्दा ठूला काम भएको उनको तर्क थियो।
'म जहाँ गएँ केही न केही गरेर देखाउँछु', पण्डितले भने, 'अन्तर्राष्ट्रिय राजनीति भनेको आफ्नो रणनीतिले राष्ट्रको सम्मुनतिले गर्ने हो।'