गण्डकी सरकारमा एमालेबाट ४ जना मन्त्री सहभागी हुने भएका छन्। प्रदेश सभा सदस्यहरू पद्यमा जिसी, मित्रलाल बस्याल, कृष्ण पाठक र प्रकाश केसी मन्त्री बन्ने पक्का भएको एमालेका एक सांसदले बताए।
एमाले गण्डकी संसदीय दलका नेता खगराज अधिकारीले सोमबार सरकारमा सहभागी हुने सांसदको नाम मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई बुझाएका थिए। मुख्यमन्त्री पाण्डेले उनीहरूलाई सोमबार नै मन्त्री नियुक्त गर्ने र दिउँसो शपथ ग्रहण कार्यक्रमको तयारी गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
एमालेबाट मन्त्री बन्न लागेका सांसदहरु पद्यमा जिसी नवलपुरका हुन् भने प्रकाश केसी कास्कीका हुन्। केसी खाद्य संस्थाका अध्यक्ष हुँदाहुँदै २०७४ सालमा राप्रपाबाट एमालेमा प्रवेश गरेका थिए। यस्तै, मित्रलाल बस्याल पर्वत र कृष्ण पाठक बागलुङबाट निर्वाचित सांसद हुन्।
गण्डकीमा एमालेबाट मन्त्री बन्न लागेका चारजनामध्ये बस्याल र जिसी एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निकट छन् भने पाठक र केसी खगराज अधिकारी निकट मानिन्छिन्।
एमालेलाई सरकारमा सहभागी गराउन आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ७ वटा मन्त्रालय बढाएर ९ वटा पुर्याएको थियो। प्रदेश सरकारले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र वन, वातावरण तथा उद्योग मन्त्रालय फुटाएको थियो।
कांग्रेस र एमाले गण्डकीमा ९ वटा मन्त्रालय पुर्याउने र एमालेलाई ४ वटा कांग्रेसले ५ वटा मन्त्रालय राख्ने सहमति भएको थियो।