नेकपा (एमाले) लाई सरकारमा ल्याउन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दुइटा मन्त्रालय फुटाएका छन्।
गण्डकीमा ७ वटा मन्त्रालय रहेकोमा दुइटा मन्त्रालय फुटाएर ९ वटा मन्त्रालय कायम गर्ने निर्णय भएको हो।
मुख्यमन्त्री पाण्डेका अनुसार वन वातावरण तथा उद्योग पर्यटन मन्त्रालय फुटाइएको छ भने सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय पनि फुटाउने निर्णय भएको उनले जानकारी दिए।
‘वन वातावरण तथा उद्योय पर्यटन मन्त्रालयमा मन्त्री एक जना भए पनि वन वातावरण र उद्योग पर्यटनको संगठन संरचना छुट्टाछुट्टै दुई वटा मन्त्रालयजस्तो थियो। कार्यालय दुइटा थिए, सचिवहरू दुई जना हुनुहुन्थ्यो। सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय पनि एउटै मन्त्रालय भए पनि दुई वटा संगठन संरचना थिए। स्वास्थ्यसम्बन्धी र सामाजिक विकास सम्बन्धी बेग्लाबेग्लै थियो, सचिवदेखि सबै संगठन संरचनाहरू। त्यसलाई अलगअलग गरेर ९ वटा मन्त्रालय कायम गर्ने आज निर्णय भएको छ,’ मुख्यमन्त्री पाण्डेले आइतबार पत्रकार सम्मेलनमा भने।
गण्डकी प्रदेश सरकारमा एमालेबाट चार जना मन्त्री छिट्टै सहभागी हुने पनि उनले बताए। संघीय गठबन्धनअनुसार गठबन्धन कायम गरेर अघि बढ्ने पनि उनले बताए।
गण्डकीमा मुख्यमन्त्री पाण्डेलाई विश्वास मत दिएका बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद राजिव गुरूङ (दीपक मनाङे) पनि मन्त्री छन्। उनीहरूलाई मुख्यमन्त्रीले निरन्तरता दिन चाहेपछि मन्त्रालय फुटाइएको हो।
संगठन संरचनामा खासै केही फरक नआउने गरी दुई जना मन्त्रीमात्रै थप गर्न खोजिएको मुख्यमन्त्री पाण्डेको भनाइ छ। उनकाअनुसार एमालेले पाउने मन्त्रालयबारे टुंगो भने लागिसकेको छैन। ‘एमालेले पाउने चार वटा मन्त्रालय निर्क्यौल भइसकेको छैन। एमाले संसदीय दल नेतासँग छलफल गरेर निर्णय हुन्छ,’ उनले भने, ‘कांग्रेसले ५ मन्त्रालय र एमालेले ४ मन्त्रालय लिने सहमति बनेको छ।’
कांग्रेसले पाएका मन्त्रालयबाटै देवकोटा र गुरूङलाई मन्त्रीमा निरन्तरता दिने तयारी छ।