भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सरकारले एक महिना भित्र निर्माण व्यवसायीहरूको पुरानो बक्यौता भुक्तानी गर्ने बताएका छन्।
निर्माण व्यवसायीहरूलाई पुराना आयोजनाहरूको रकम भुक्तानी नहुँदा पूर्वाधार निर्माणको कामले तिव्रता पाउन नसकेको उल्लेख गर्दै मन्त्री दाहालले एक महिना भित्र पुरानो रकम भुक्तानी गरेपछि निर्माणको कामले पनि तिव्रता पाउने बताए।
प्रेस चौतारी नेपाल रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटको अवसरमा बोल्दै मन्त्री दाहालले राजश्व संकलनमा कमी आएका कारण पुराना योजनाहरूको भुक्तानीमा केही समस्या भएको स्वीकार गरे।
उनले प्रधानमन्त्री र अर्थमन्त्रीबाटै पुरानो बक्यौता भुक्तानीको लागि प्रतिबद्धता आएकोले एक महिना भित्र समस्या समाधान हुने दावी गरे।
‘प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलले बक्यौता रकम भुक्तान गर्ने प्रतिबद्धता गरिसक्नु भएकोले अबको एक महिना भित्र भुक्तानीको समस्या समाधान हुन्छ र दसैं तिहार पछि निर्माणको काम अगाडि बढ्छ,’ उनले भने।
मन्त्री दाहालले सिमित स्रोतले धेरै आयोजनाहरूको काम सुरू गर्नुभन्दा अहिले निर्माणाधिन रहेका आयोजनाहरूको स्रोत सुनिश्चित गरेर मात्र नयाँ आयोजनाहरुको काम अगाडि बढाउने पनि बताए।
‘निर्माण आयोजनाहरू वर्षौंसम्म अलपत्र राख्नु भन्दा अहिले निर्माणाधिन रहेका आयोजनाहरूको स्रोतको व्यवस्थापन गरेर मात्र नयाँ आयोजनाहरू अगाडि बढाउनुपर्छ भन्ने सरकारको योजना छ,’ उनले भने।
मन्त्री दाहालले भौतिक पूर्वाधार नै विकास हो भन्ने जनताको बुझाइरहेपनि मानवीय विकास पनि उत्तिकै महत्वपूर्ण रहेको बताए। उनले विकासका लागि शान्ती र स्थायीत्व महत्वपूर्ण रहेको र अहिले शान्ती र स्थायीत्व भइसकेकोले सरकार विकासको काममा लागेको बताए।
उनले तराईमा सडक र पुलपुलेसा बनेजस्तै पहाडमा यातायातको पहुँचको लागि सुरुङ निर्माणको क्रम बढेको बताए।
‘हामी अहिले टनेल युगमा प्रवेश गरेका छौं, नागढुंगा र फास्ट ट्रयाकमा टनेलहरू ब्रेक थ्रु भइसकेका छन्। सिद्धबाबा सुरुङमार्ग पनि केही महिनामै ब्रेक थ्रु हुने देखिएको छ,’ मन्त्री दाहालले भने।
मन्त्री दाहालले वर्षौंसम्म आयोजनाहरू अलपत्र रहेकै कारण सरकारमा जो गएपनि उस्तै हुन् भन्ने जनताको बुझाइ बनेकोले वर्तमान सरकार त्यसलाई चिर्ने प्रयासमा रहेको दावी गरे।
त्यसअघि बुटवल-पाल्पा सडकखण्ड अन्तरगत निर्माणाधिन सिद्धबाबा सुरुङ मार्गको कार्यप्रगतिबारे जानकारी लिंदै मन्त्री दाहालले अबको सय दिन भित्रै ब्रेक थ्रु हुनेगरी काममा तिब्रता दिन निर्देशन दिएका थिए। निर्माण कम्पनीले तोकिएको समयभन्दा पनि कम समयमा निर्माण सम्पन्न गर्नेगरी तिब्रताका साथ काम गर्न आफूले आग्रह गरेको उनले बताए।
यसैगरी बुटवल-नारायणगढ सडक विस्तारमा देखिएको ढिला सुस्तीबारे पनि निर्माण कम्पनीसँग छलफल गरिएको र निर्धारित समयमा काम सम्पन्न नगरे ठेक्का तोड्ने चेतावनी दिइसकिएको बताए।
‘बुटवल नारायणगढ सडकमा भुक्तानी समस्याका कारण नभई निर्माण कम्पनीका कारण ढिलासुस्ती भएको छ, चाइना पुगेर समेत समेत समयमा काम सम्पन्न गर्न कन्ट्र्याक्टरलाई भनेका छौं उसले ढिलाई गरे ठेक्का तोडेर भएपनि यो सडक बनाउँछौं,’ मन्त्री दाहालले भने।
उनले निर्माण कम्पनीकै लापरवाहीका कारण बुटवलको तिन किलोमिटर सडक अलपत्र रहेको उल्लेख गर्दै अहिले पुरानो ठेक्का तोडेर नयाँ ठेक्काको प्रक्रियामा रहेकोले अबको एकवर्ष भित्र सडक निर्माणको काम पुरा हुने दावी गरे।
मन्त्री दाहालले सिद्धबाबा सुरुङ मार्गको कार्यप्रगतिबारे जानकारी लिएपछि बुटवल-नारायणगढ सडकको स्थलगत निरीक्षणका लागि हिँडेका छन्। मन्त्री दाहालसँगै सडक विभागका महानिर्देशक रामहरी पोखरेल र मन्त्रालयका सचिव केशव शर्मा पनि सिद्धबाबा सुरुङमार्ग र बुटवल-नारायणगढ सडकको स्थलगत निरीक्षणमा आएका छन्।