महामन्त्री, पार्टी प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णयविरूद्ध डा. मुकुल ढकालले पार्टीमा पुनरावेदन दिएका छन्।
पार्टी हित, आचरण प्रतिकूल हुने गरी कार्य गरेको भन्दै ढकाललाई असार २५ गते निलम्बन गरिएको थियो।
साथै भदौ ११ गते राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई साधारण सदस्यबाट समेत बर्खास्त गरिसकेको छ।
तथापि पार्टीले गरेको निर्णयअनुप र विधानको धारा ५७ अनुसार महामन्त्री, पार्टी प्रवक्ता र केन्द्रीय सदस्यबाट निर्णय पुनरवलोकन गर्न आफूले पुनरावेदन दिएको ढकालले बताएका छन्।
‘वास्तवमा म पुनरावेदकले पार्टीको सभापतिबाट भए गरेको गैरकानूनी कार्य र उहाँविरुद्ध राज्यको विभिन्न निकायबाट भइरहेको अनुसन्धान, अदालतमा विचाराधीन दोहोरो पासपोर्ट जस्ता गम्भिर प्रकृतिका तथा आम नागरिक समेतबाट उठेको सहकारी रकम ठगी र दुरूपयोग जस्ता कार्यको विरोध गरेको कारण सभापतिबाट व्यक्तिगत रूपमा मलाई लक्षित गरी पार्टीबाट विभिन्न कारबाहीहरू भइरहेको अवस्था छ भने मलाई पदमुक्त गर्नु समेत यसै विरोधको निरंकुश उपज हो,’ उनले पत्रमा भनेका छन्।
गत असार १४ गते सोधिएको स्पष्टीकरणमा समेत आफूमाथि के-कस्तो विषयको अनुसन्धान भइरहेको हो तथा त्यसवापत के-कस्तो सजाय हुन सक्ने हो लगायतको विषय उल्लेख नगरिएको उनको तर्क छ।
‘सोही त्रुटिपूर्ण स्पष्टीकरणको आधारमा मलाई साउन १९ गते ७ दिन निलम्बन गरिएको थियो,’ ढकालले भनेका छन्।
उनले आफूमाथि विवेचित तथ्य, कानूनी व्यवस्था एवं सर्वोच्च अदालतबाट प्रतिपादित कानूनी सिद्धान्त प्रतिकूल हुने गरी व्यक्तिगत पूर्वाग्रह राखी प्रतिशोध लिइएको बताएका छन्।
‘पार्टीको पदको दुरुपयोग गरी पार्टी विधान एवं कानून विपरित केन्द्रीय समितिको बैठक बसी ममाथि कारबाही गर्दा सफाइ पेश गर्ने मौका समेत प्रदान नगरेको, निर्णय माग गर्दा निर्णय उपलब्ध समेत नगराइ मलाई पार्टीको महामन्त्री, प्रवक्ता तथा केन्द्रिय समितिको सदस्यबाट पदमुक्त गर्ने गरी भएको मिति असार २५ को कथित निर्णय त्रुटिपुर्ण रहेको हुँदा पार्टीको निर्णय अभिलेखबाट हटाई साविक बमोजिम साविककै पदिय हैसियतमा रही पार्टीमा काम गर्ने वातावरण मिलाइपाऊँ,’ उनले पुनरावेदनमा भनेका छन्।