नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ।
आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरू हुनेछ।
आज हुने बैठक साउन २३ गतेदेखि चलिरहेको केन्द्रीय समिति बैठकको निरन्तरता हो।
यसअघि बुधबार बस्ने तय भएको बैठक दुई महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले पेस गरेक समसामियक राजनीतिक प्रस्तावबारे विवाद भएपछि छलफल गरेर सहमति जुटाउन बैठक सारिएको थियो।
गत फागुनमा महासमिति बैठकमा पेस गरेको प्रस्ताव केन्द्रीय समितिबाट अनुमोदन गर्ने भनिएको थियो।
महासमितिले पारित गरेका एजेन्डालगायत ११ विषयमाथि केन्द्रीय समितिमा साउन २३ गतेदेखि नै छलफल भएको थियो।
महामन्त्री थापाको प्रतिवेदनमा १५ औं महाधिवेशन कार्यतालिका बनाएर जाने र चुनावअघि कसैसँग पनि गठबन्धन नगर्ने विषय समावेश छ। तर ती विषय अहिले नै निधो गरेर जान नहुनेमा सभापति देउवासहित उनी पक्षका अधिकांश केन्द्रीय सदस्यहरू उभिएका छन्।
अर्का महामन्त्री शर्माको प्रतिवेदनमा राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन पटक र सांसद चार पटक हुन पाउने गरी बहिर्गमन नीति बनाउनुपर्ने विषय समावेश छ।
दुवै महामन्त्रीको प्रस्तावमा पक्ष र विपक्षमा केन्द्रीय सदस्यहरू देखिएपछि पदाधिकारी तहमा छलफल गरी सहमति निकाल्ने भनिएको थियो।
यसबीचमा बूढानीलकण्ठमा पटकपटक छलफलसमेत भएको छ।
महामन्त्री शर्माले शनिबार काठमाडौंमा आयोजित एउटा कार्यक्रममा आफूले राखेको प्रस्ताव आइतबार बस्ने केन्द्रीय समितिले पास गर्ने समेत बताएका थिए।