प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई डराउनुपर्ने र खुट्टा कमाउनुपर्ने कुनै कारण नभएको बताएका छन्।
शनिबार क्याप्टेन रामेश्वर थापाको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले बंगलादेश र श्रीलंकाको घटनालाई लिएर डराउनुपर्ने कुनै कारण नभएको बताएका हुन्।
उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’श्रीलंका र बंगलादेशबाट सिक भनेर अर्ति उपदेश दिएको बताउँदै नेपालमा त्यस्तो नहुने बताएका हुन्।
‘हिजोतिर हो क्यारे प्रचण्डजीले श्रीलङ्का र बंगलादेशबाट सिक भनेर अर्ति, उपदेश दिनुभएछ। मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने ? मैले लुटपाट गरेको छु र खुट्टा कमाउनु ? मैले डराउनुपर्ने, श्रीलङ्काबाट सिक, बंगलादेशबाट सिक जो चर्को स्वरमा भन्दै हुनुहुन्छ,’ उनले भने।
उनले नेपाल कुनै देशको फोटोकपी नरहेको र अन्यत्र जे भयो नेपालमा त्यही हुने भन्ने नहुने पनि बताए।
‘यहाँ आफ्नो इतिहास छ। आफ्नो परम्परा छ। हामीले लडेर प्रजातन्त्र र यो प्रणाली ल्याएका हौं,’ उनले भने।
उनले अहिलेको व्यवस्थालाई विकास, सुधार र परिमार्जन गर्दै लैजाने पनि बताए। ‘यसलाई देश र जनताको पक्षमा अझ प्रभावकारी बनाउँदै जान्छौँ। यो प्रणालीलाई र संविधानलाई देश र जनताको पक्षमा बनाउँदै लैजान्छौं,’प्रधानमन्त्री ओलीले भने।
प्रधानमन्त्री ओलीले अब नेपालमा कहिल्यै पनि हिंसा सम्भव नभएको बताए।
‘त्यसप्रकारको हिंसा हुन दिइँदैन। कसैले गर्न खोजेपनि, चाहेपनि सम्भव छैन। उल्टै हामीलाई तर्साउन खोज्ने ? हामी बारुदका बीचमै यात्रा गरेर आएका हौँ। आजदेखि होइन। आधा शताब्दीभन्दा बढी समयदेखि। म ६ दशकदेखि यही देश बनाउने अभियानमा छु,’ उनले भने।
(न्युज एजेन्सी नेपालबाट)