नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धन बनाउन क्याप्टेन रामेश्वर थापाको ठूलो योगदान रहेको बताएका छन्।
शनिबार काठमाडौंमा क्याप्टेन रामेश्वर थापाद्वारा लिखित एक पुस्तकको विमोचन कार्यक्रमलाई सम्बोधन सभापति देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली र आफूलाई नजिक ल्याउन थापाले महत्वपूर्ण भूमिका खेलेको बताएका हुन्।
‘यो कुरा लुकेर लुक्ने कुरा छैन। ओलीजी र मलाई नजिक ल्याउने काममा, यो गठबन्धन बनाउने काममा पनि उहाँको धेरै ठुलो योगदान छ। धेरै ठूलो मद्दत गर्नुभएको छ। यसकारण म हाम्रो पार्टीको तर्फबाट हार्दिक–हार्दिक धन्यवाद दिन चाहन्छु,’ उनले भने।
देउवाले क्याप्टेन थापालाई प्रधानमन्त्री ओली निकटको व्यक्ति भनेर चिनिने भएपनि यथार्थमा थापा सबैलाई सहयोग गर्ने मान्छे भएको समेत बताए।
‘उहाँले पहिल्यैदेखि मलाई व्यक्तिगत रुपमा पनि धेरै ठूलो मद्दत गर्नुभएको छ। पार्टीलाई पनि। यसकारण रामेश्वर थापाजीलाई केपी शर्मा ओलीको पार्टीको नजिकको भनेतापनि उहाँ सबैको समर्थक, सबैलाई सहयोग गर्ने व्यक्ति हो,’ उनले भने।
(न्युज एजेन्सी नेपालबाट)