उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले प्रदेशको राजधानी बुटवल भएन भनेर गुनासो नगर्न आग्रह गरेका छन्।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको नयाँ बन्न लागेको १२ तले भवनको शनिबार शिलान्यास गर्दै अर्थमन्त्री पौडेलले प्रदेशको राजधानी भएन भनेर सधैँभरी गुनासो नगर्न र विकास निर्माणका हिसाबले के गर्नुपर्छ त्यसतर्फ योजना बनाउन आग्रह गरेका हुन्।
‘बुटवल राजधानी भएन भनेर गुनासो गरेको सुन्छु, तपाइँहरुलाई राजधानीको चार अक्षर चाहिएको हो कि विकास र पूर्वाधार चाहिएको हो?,’ पौडेलले भने, ‘विकास र पूर्वाधार चाहिएको हो भने राजधानी भएन भनेर सधैँ गुनासो गरेर बस्ने होइन, आज रूपन्देही विकास र पूर्वाधारका हिसाबले कहाँ छ भनेर गर्व गर्नुस् र भोलि कहाँ पुर्याउने भनेर योजना बनाउनुस्।’
भोलिको रुपन्देही कस्तो बनाउने भन्ने आफुसँग स्पष्ट योजना रहेको भन्दै पौडेलले आफ्नो योजनालाई पुरा गर्न साथ दिन आग्रह गरे।
अर्थमन्त्री पौडेलले जनताको अवस्था परिवर्तनका लागि अहिलेको गठबन्धन बनेको बताए। आर्थिक हिसाबले मुलुक गम्भीर अवस्थामा पुग्न थालेकोले मुलुकको व्यवस्था परिवर्तनका लागि एक ठाउँमा उभिएका दलहरु फेरि एकपटक एकठाउँमा उभिएको उनले दाबी गरे।
उनले मुलुकको अर्थतन्त्र गम्भीर मोडमा पुगेकैले अर्थतन्त्र सुधारका लागि वर्तमान गठबन्धन बनेको र केही सकारात्मक संकेतहरु पनि देखा पर्न थालेको दाबी गरे।
‘नेपालका राजनीतिक दलहरु व्यवस्था बदल्नका लागि मात्र मिल्दैनौं, जनताको अवस्था परिवर्तनका लागि पनि एक ठाउँमा उभिन सक्छौं, जुन सन्देश वर्तमान गठबन्धन सरकारले दिएको छ,’उनले भने।
अर्थमन्त्री पौडेलले विकास निर्माणका काममा सत्तापक्ष प्रतिपक्ष सँगसँगै हिंड्ने पनि बताए।
‘विकासका प्रश्नमा सत्ता पक्ष र प्रतिपक्ष भनेर किन तानातान गर्ने, हामी एक ठाउँमा उभिनु पर्छ, उनले भने।
अस्पतालको भवन निर्माणका लागि गुणस्तरमा कुनै सम्झौता नगर्न निर्देशन दिए।
‘सात आठ अर्बमा बन्ने अस्पतालको भवन निर्माण भएर मात्र हुँदैन, यहाँ प्रयोग हुने बालुवादेखि सिमेन्ट र धारादेखि टायल मार्वलसम्म गुणस्तरको प्रयोग गरिएको हुनुपर्छ, सुरुमै गुणस्तरको प्रयोग भएन भने भत्काएर फेरी बनाउने अवस्था नआओस्,’ पौडेलले भने।
अर्थमन्त्री पौडेलले अस्पतालको भवन निर्माणसँगै १२ सय बेड अस्पताल संचालनका लागि दक्ष जनशक्ति र उपकरणको आवश्यकता हुने भएकोले त्यसको व्यवस्थापनका लागि पनि योजना बनाएर अगाडी बढ्न प्रदेश सरकारलाई आग्रह गरे।
‘जसरी प्रदेश पूर्वाधार विकास प्राधिकरणले अस्पतालको भवन निर्माणको कामलाई अगाडी बढाउँछ प्रदेश सरकारले पनि जनशक्ति र उपकरण व्यवस्थापनको योजना अगाडी बढाउन सके भवन उद्घाटनसँगै पूर्ण क्षमतामा अस्पतालको सेवा संचालन गर्न सकिन्छ,’ उनले भने।
पौडेलले बुटवलको तिन किलोमिटर सडक समयमा निर्माण सम्पन्न नहुँदा आलोचना खेप्नुपरेको उल्लेख गर्दै पहिलेको सडकको ठेक्का रद्ध गरी पुनः ठेक्काको प्रक्रियामा रहेको बताए। सडकको निर्माणको काममा सडक डिभिजन कार्यालयलाई पहिलेको गल्ति नदोहोर्याउन उनले आग्रह गरे।
‘सडक डिभिजन कार्यालयलाई मैले भन्न चाहन्छु, पहिलेको ठेक्का रद्ध भएर फेरि ठेक्काको प्रक्रियामा रहेकोले निर्माणको लागि पहिलेको जस्तो काम नगर्ने कमजोर ठेकेदार छनोट नगर्नुहोला,’ पौडेलले भने।
उनले निर्माणधीन आयोजनाहरु गुणस्तरीय निर्माणका लागि जनस्तरबाट निगरानी गर्न पनि आग्रह गरे।
‘सरकारले अगाडी बढाएका आयोजनाहरुको गुणस्तरीय निर्माणका लागि आयोजनाप्रति नागरिक सरोकार बढाउन जरुरी छ,’ पौडेलले भने।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणपछि सिंगो प्रदेशको मात्र नभएर देशकै स्वास्थ्य क्षेत्रलाई परिवर्तन गर्न सकिने बताए। उनले अस्पताल निर्माणका लागि प्रदेश सरकारले बजेटको अभाव हुन नदिने समेत बताए।
भवन शिलान्यासका अवसरमा लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीले नयाँ बन्ने अस्पतालको भवनले आधुनिक अस्पतालको आवश्यकतालाई पूरा गर्ने बताए। लुम्बिनी प्रादेशिक अस्पताल प्रदेशकै गौरवको आयोजना भएकाले प्रदेश सरकारले यसको सही व्यवस्थापन गर्ने बताए।
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम सारुले अस्पतालको हालको अवस्थाबारे जानकारी गराउँदै स्तरोन्नतीपछि नमूना अस्पताल बन्ने बताए।