प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको धुलिखेल जानका लागि प्रयोग गरेको हेलिकप्टरमा प्राविधिक समस्या देखिएको छ।
शुक्रबार दिउँसो प्रधानमन्त्री ओली काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन नेपाली सेनाको हेलिकप्टरमा धुलिखेल पुगेका थिए।
एनए ०६७ कलसाइन भएको नेपाली सेनाको हेलिकप्टरमा प्राविधिक समस्या देखिएपछि अर्को हेलिकप्टर मगाइएको थियो।
नेपाली सेनाको एमआइ १७ हेलिकप्टर चढेर प्रधानमन्त्री ओली काठमाडौं फर्किसकेको नेपाली सेनाको काभ्रेस्थित स्रोतले जनाएको छ।
प्रधानमन्त्री ओली धुलिखेल जाँदा प्रयोग गरेको हेलिकप्टरमा देखिएको प्राविधिक समस्या पनि समाधान भइसकेको उक्त स्रोतको भनाइ छ।
‘सामान्य प्राविधिक समस्या देखिएको थियो, प्रधानमन्त्री अर्को हेलिकप्टरमा काठमाडौं फर्किसक्नुभयो। प्राविधिक समस्या समाधान गरेर त्यो हेलिकप्टर पनि काठमाडौं पठाइसकियो,’ नेपाली सेनाको उक्त स्रोतले भन्यो।