राष्ट्रिय मानवअधिकार आयोगले पाँचथरमा २ बालबालिकाको ज्यान जानेगरी विस्फोट भएको वस्तु तत्कालीन द्वन्द्वरत पक्षले राखेको आशंका गरेको छ।
शुक्रबार आयोगका प्रवक्ता टीकाराम पोखरेलले विज्ञप्ति जारी गरेर बिहीबार दिउँसो विस्फोट भएको वस्तु शान्ति सम्झौताअघिका द्वन्द्वरत पक्षले राखेको हुनसक्ने बताएको हो।
आयोगले यसमा निष्पक्ष छानबिन गर्न पनि सरकारलाई निर्देशन दिएको छ।
बिहीबार पाँचथरको फालेलुङ गाउँपालिका-५ स्थित ज्ञानबहादुर राईको परिवार बस्दै आएका आइतराज केरूङको घरमा विस्फोट हुँदा आँगनमा खेलिरहेका ४ बालबालिका घाइते भएका थिए।
घाइतेमध्ये ज्ञानबहादुरकै छिमेकी दिलिप राईका ११ वर्षीय छोरा र २ वर्षीया छोरीको उपचारका क्रममा मृत्यु भएको थियो। ज्ञानबहादुका एक छोरा उपचारपश्चात डिस्चार्ज भइसकेका छन् भने अर्का छोराको उपचार भइरहेको छ।
नेपाली सेनाले शुक्रबार डिस्पोज गरेपछि उक्त विस्फोटक पदार्थ हातले बनाइएको सकेट बम रहेको प्रहरीले जनाएको छ।
आयोगले उक्त घटनामा कोशी प्रदेश कार्यालयले अनुगमन गरेको पनि आयोगले जनाएको छ। विस्तृत शान्ति सम्झौता भएको १८ वर्ष पूरा हुन लाग्दा पनि विस्फोटको घटनाबाट बालबालिकाले ज्यान गुमाउनुपर्ने अवस्थाको सिर्जना हुनु दुःखद रहेको बताएको छ।
विस्तृत शान्ति सम्झौताको बुँदा नम्बर ५.१.४ मा ‘दुवै पक्ष युद्धको समयमा प्रयोग गरिएका धराप तथा बारुदी सुरुङ्गहरुको रेखाङ्कन, भण्डारण तीस दिनभित्र एक अर्कालाई जानकारी दिने र साठी दिनभित्र निष्कृय र निर्मूल गर्न एक अर्कालाई सहयोग गर्नेछन्’ भन्ने उल्लेख रहेको आयोगले स्मरण गराएको छ।
‘निर्दोष बालबालिकाको ज्यान जाने गरी भएको उक्त घटनाको निपपक्ष छानविन गरी दोषीलाई कारबाही गर्न, घाइतेको निशुल्क र प्रभावकारी उपचारको व्यवस्था मिलाउन, घाइते तथा मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न र जथाभावी छोडिएका यस्ता विष्फोटक पदार्थहरु निष्कृय पारी पुनः यस प्रकारका घटना दोहोरिन नदिन आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।