कोशी प्रदेशको प्रदेश सभामा नेपाली कांग्रेस शुक्रबारदेखि सत्तापक्षमा र नेकपा माओवादी केन्द्र विपक्षमा बस्ने भएका छन्।
प्रदेश सभा सचिव गोपाल पराजुलीका अनुसार कांग्रेसले एमाले नेता हिक्मत कार्की नेतृत्वको सरकारलाई समर्थन गरेको पत्र सचिवालयमा दर्ता गराएको छ। त्यस्तै, माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र दर्ता गराएको पराजुलीले जानकारी दिए।
केन्द्रमा कांग्रेस र एमाले मिलेर सरकार बनाएपछि मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारमा रहेका माओवादी मन्त्रीहरूले गएको साउन ११ मा पदबाट राजीनामा दिएका थिए। यतिन्जेलसम्म समर्थन भने कायमै राखेको माओवादीले पत्र लेखेर समर्थन फिर्ता लिएको हो।
नेपालको सविधानको धारा १६८ को उपधारा ५ अनुसार वैशाख २७ मा मुख्यमन्त्री बन्दा कार्कीलाई माओवादी सांसदहरूले समर्थन गरेका थिए।
माओवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएको छ। १३ जना सांसद रहेको माओवादीले समर्थन फिर्ता लिएकै दिन सरकारलाई २९ जना सांसद रहेको कांग्रेसले समर्थन जनाएको हो। एमालेसँग ४० सांसद छन्। ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ जना सांसद आवश्यक पर्छ।
असार ८ मा बसेर अनिश्चितकालीन स्थगनमा रहेको कोशी प्रदेश सभा बैठक शुक्रबार बस्दैछ।
सरकारलाई समर्थन गरेर शुक्रबारदेखि सत्तापक्षमा बस्ने निर्णय लिएको कांग्रेसले कोशीमा मन्त्री पठाउन भने अझै सकेको छैन। सभापति शेरबहादुर देउवा, संस्थापनइतर पक्षका नेता शेखर कोइराला र कृष्णप्रसाद सिटौला पक्षबीच आन्तरिक भागबन्डाको किचलो नमिल्दा मन्त्रीको नाम छान्ने एक महिनाभन्दा लामो प्रयास सफल हुन सकिरहेको छैन।
'हामीले आजदेखि सरकारलाई समर्थन गरेका छौं,' पूर्वमुख्यमन्त्री समेत रहेका कांग्रेस संसदीय दलका नेता उद्धव थापाले भने, 'मन्त्री केन्द्रले छानेर पठाउने छ। नाम पठाएपछि सरकारमा जान्छौं।'
थापाले अबको एक दुई दिनमै केन्द्रले नाम पठाउने विश्वास व्यक्त गरे।
कोशीमा देउवा पक्षबाट प्रदीप सुनुवार, हिमाल कार्की, खगेनसिंह हाङ्गाम लगायतका सांसद मन्त्री हुने दौडमा छन्।
शेखर कोइराला पक्षबाट इन्दिरा थापा, गोविन्द गिरी , मानबहादुर लिम्बू, रामकुमार खत्री यो दौडमा सामेल हुँदा सिटौला पक्षबाट भीम पराजुली र भुपेन्द्र राई मन्त्री बन्ने लबिङमा छन्।