परराष्ट्र सचिव सेवा लम्साल बेल्जियमका लागि राजदूत सिफारिस भएकी छिन्।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई बेल्जियमको राजदूत सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए।
लम्साल २०८० मंसिर २८ गते परराष्ट्र सचिवमा बढुवा भएकी थिइन्। उनी पहिलो महिला परराष्ट्र सचिव हुन्। उनको कार्यकाल १३ महिना बाँकी छ।
कार्यकाल बाँकी छँदै लम्साललाई बेल्जियमका लागि राजदूत सिफारिस गरिएको हो।
अहिले बेल्जियमका लागि नेपाल राजदूत गेहेन्द्रराज भण्डारी छन्। उनी २०७७ पुसमा राजदूत नियुक्त भएका हुन्।
उनको कार्यकाल सकिन लागेकाले मन्त्रिपरिषद्को बैठकले लम्साललाई राजदूत सिफारिस गरेको हो।
यसैबीच सरकारले अमृत राईलाई परराष्ट्र सचिवमा बढुवा गर्न लागेको छ।
उनी अहिले भएका सहसचिवमध्ये वरिष्ठ हुन्।
उनी दक्षिण अफ्रिकाको राजदूत र संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि भइसकेका थिए।