नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले महासमिति बैठक हुँदै केन्द्रीय समितिमा आएका सबै प्रस्तावहरू सर्वसम्मतिले पारित हुने बताएका छन्।
गत फागुन ७ गतेदेखि १० गतेसम्म ललितपुरको गोदावरीमा कांग्रेस महासमिति बैठक चलेको थियो।
उक्त बैठकमा उपसभापति खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव पेस गरेका थिए।
ती प्रस्तावमाथि समूहगत रूपमा महासमिति सदस्यहरूले सुझाव दिएका थिए। ती सुझाव समेटेर प्रस्तावहरू केन्द्रीय समितिले अनुमोदन गर्ने गरी महासमिति बैठक सकिएको थियो।
महासमिति सकिएको पाँच महिनापछि गत साउन २३ गतेदेखि केन्द्रीय समितिमा यी प्रस्तावबारे पुन: छलफल भइरहेका छन्। महासमितिमा पेस गरिएका प्रस्तावमाथि केन्द्रीय सदस्यहरूले धारणा पनि राखिसकेका छन्।
तर महामन्त्रीद्वय थापा र शर्माको प्रस्तावमा सहमति जुटाउन बाँकी छ। निर्वाचनअघि गठबन्धन नगर्ने, व्यक्ति एक्जिट पोलिसी, १५ औं महाधिवेशन कार्यतालिकाजस्ता विषयमा सभापति शेरबहादुर देउवा अहिले नै निर्णय गर्ने पक्षमा छैनन्।
त्यसैले ती विषय के गर्ने भन्नेमा छलफल भइरहेको छ। बिहीबार बिहान पनि बूढानीलकण्ठमा सभापति देउवाले उपसभापतिहरू र महामन्त्रीहरूसँग यसबारे कुराकानी गरेका थिए। शनिबार पदाधिकारी र पूर्वपदाधिकारी बैठक गरी अनौपचारिक सहमति खोज्ने प्रयासमा सभापति देउवा छन्।
यसैबीच बिहीबार अपराह्न उपसभापति खड्काले महासमितिमा प्रस्तुत प्रस्ताव केन्द्रीय समितिबाट सर्वसम्मतिले पारित गरिने बताएका छन्। भदौ १६ गते बस्ने केन्द्रीय समिति बैठकले सबै प्रस्ताव सहमतिमै पारित गर्ने उनको भनाइ छ।
‘कांग्रेसको जारी केन्द्रीय समितिमा महासमितिमा प्रस्तुत प्रस्ताबारे भइरहेको छलफल र पार्टी पदाधिकारीसँग सभापतिको जारी परामर्शबारे सार्वजनिक रूपमा आएका टिप्पणीबारे सिङ्गो पार्टीपङ्ति ढुक्क हुनुस्, सबै प्रस्तावहरू परिमार्जनसहित भदौ १६ गते सर्वसम्मतिले पारित हुन्छन्,’ उपसभापति खड्काले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेका छन्।
यो पनि: देउवालाई पार लगाउन हम्मेहम्मे परेका तीन एजेन्डा