नेकपा (एकीकृत समाजवादी) ले पार्टी एकताबारे चलेका हलुका प्रचारबाट प्रभावित नहुन आग्रह गरेको छ।
सामाजिक सञ्जालहरूमा आउने पार्टी एकताका हलुका प्रचारबाट प्रभावित नहुन पार्टीले आग्रह गरेको हो।
केन्द्रीय कमिटीको पहिलो पूर्ण बैठकले ६ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै विचार, सिद्धान्त, राजनीति र संगठनका सबै विषयमा खुल्ला छलफलबाट सहमति र सहकार्य गर्दै अगाडि बढेर मात्रै कम्युनिष्ट पार्टीहरूका बीच एकता हुने उल्लेख गरेको हो।
समाजवाद, लोकतन्त्र, राष्ट्रियहित तथा सुशासनका लागि वामपन्थी शक्तिहरूसँग सहकार्य गर्ने नीतिअनुसार पार्टी समाजवादी मोर्चा नेपालमा आबद्ध हुँदै आएको एकीकृत समाजवादीको भनाइ छ।
मुलुकमा बदलिएको विषम राजनीतिक परिस्थितिलाई गम्भीर रूपमा विश्लेषण गर्दै समाजवादी मोर्चा नेपाललाई अझ प्रभावकारी ढंगले क्रियाशील बनाउन लागिपर्ने पनि प्रतिवद्धता बैठकले गरेको छ।
साना दलको अस्तित्वमाथि आघात पुर्याउने संविधान प्रदत्त अधिकार कुण्ठित गर्ने तथा समावेशी लोकतन्त्रको मूल मर्ममाथि प्रहार गर्ने कुचेष्टाले संविधान संशोधन गर्ने प्रतिगामी चिन्तन प्रकट हुन थालेको एकीकृत समाजवादीले बताएको छ।
‘यो बैठक संघीय लोकतान्त्रिक गणतन्त्र संविधान, राष्ट्रिय स्वाभिमान तथा सार्वभौमिकतामाथि हुन सक्ने षडयन्त्र र प्रहारप्रति सचेत हुँदै सम्पूर्ण लोकतान्त्रिक र देशभक्त शक्तिलाई एकजुट हुन अपिल गर्छ,’ प्रस्तावमा भनिएको छ।