नेकपा (एमाले) का सांसद पदम गिरीले पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारले सही ढंगबाट सुन तस्करी छानबिन गरेको भए माओवादीका शीर्ष नेताहरू कोही बाँकी नरहने बताएका छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले सही ढंगबाट छानबिन भएको भए माओवादीका शीर्ष तहका कुनै पनि नेता बाँकी नरहने दाबी गरेका हुन्।
सुशासनको ठूला कुरा गर्ने तर बालुवाटारको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीहरूलाई कारबाही गर्न नसकी उन्मुक्ति दिने काम भएको पनि उनले बताए।
‘माओवादी केन्द्रतिर फर्किएर कुनै प्रश्न गर्न म आएको होइन। हिजोको सरकारतिर फर्किएर प्रश्न गर्न मन थिएन। तर पूर्वप्रधानमन्त्रीले जुन प्रश्नहरु संसदमै तेर्साउनु भयो त्यसलाई हामीले टुलुटुलु हेरेर बस्न सक्दैनौँ,’ उनले भने, ‘म सुशासनको पक्षमा छु। म ट्रंक लाइन र डेडिकेटेड लाइनमा राज्यले लिनुपर्ने २२ अर्ब वक्यौता उठाउने पक्षमा थिएँ। अहिलेको सरकारले त्यो उठाउन दिएन भन्ने प्रकारले हिलो छ्याप्ने कोशिस गर्नुभयो। म उहाँलाई प्रश्न सोध्न चाहन्छु, तपाईंहरूले ऊर्जा मन्त्रालय सम्हालेको पछिल्लो ८ वर्ष भयो। निरन्तर ८ वर्ष ऊर्जा मन्त्रालयको नेतृत्व गरिरहँदा किन आजसम्म वक्यौता उठाउन चाहनु भएन?’
उनले थपे, ‘सुन तस्करीमा पारदर्शी ढंगले छानबिन भएको भए सायद तपाईंको पार्टीको हेडक्वार्टरमा कोही मानिस बाँकी रहँदैन थिए। यो म भन्नसक्छु।’
(न्युज एजेन्सी नेपाल)