नेपाली कांग्रेसका सांसद गगन थापाले भ्रष्टाचारसम्बन्धी विधेयकमा रहेको हदम्याद पूर्ण रूपमा खारेज गर्न आफूले संशोधन हालेको बताएका छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै कांग्रेस महामन्त्रीसमेत रहेका थापाले यो विधेयकमा व्यापक जनचासो रहेको र सल्लाह, सुझाव र खबरदारी आइरहेकोमा स्वागतयोग्य भनेका छन्।
‘भ्रष्टाचारजन्य कसुरमा थाहा भयो भने पाँच वर्षभित्र मात्र यसको हदम्याद हुन्छ भन्ने विधेयक संसदमा आएको छ। राज्य व्यवस्था तथा सुशासन समितिमा अहिले छलफल चलिरहेको छ, विचाराधीन छ,’ सांसद थापाले भने।
नागरिकलाई सत्यतथ्य बताउने जिम्मेवारी भने सांसदहरूको भएको उनले बताए।
‘त्यो विधेयकमा संशोधन हाल्ने संशोधनकर्तामध्ये म एउटा हुँ। हदम्याद पूर्ण रूपमा खारेज गर्नुपर्छ भन्ने संशोधन छ, कानुन बन्दै गर्दा त्यहाँ हदम्यादको व्यवस्था हुँदैन, हदम्याद भन्ने शब्द नै त्यहाँ रहँदैन,’ उनले भने।
उनले उत्तेजनाको व्यापार नगर्न पनि आग्रह गरेका छन्।
यो विधेयक २०७६ साल माघ ६ गते नेपाल कम्युनिष्ट पार्टीको सरकार भएका बेला राष्ट्रिय सभामा दर्ता भएको पनि थापाको भनाइ छ। त्यसबेला एमाले र माओवादी सरकारमा थिए।
‘अवकास प्राप्त गरेका व्यक्तिहरूका हकमा भने ५ वर्षको हदम्याद भनेर त्यसबेला प्रस्ताव आयो,’ थापाले भने, ‘त्यो नियत र सोचका साथमा आएको विधेयक अलिकति सुधार गर्दै थाहा पाएको मितिमा भनेर २०७९ को चैतमा पारित गर्यो। २०८० मा यो प्रतिनिधि सभामा दर्ता भयो। छलफल भयो। वैशाख ११ गते संशोधन दर्ता गरायौं।’
यो विधेयकमा कांग्रेस, एमाले, रास्वपा र राप्रपाका सांसदले संशोधन हालेको पनि बताए।
‘हामीले जिम्मा लिएर भन्ने हो नआत्तिनुस् हदम्यादको व्यवस्था गर्दैनौं, गतल कुरा राख्दैनौं,’ उनले भने, ‘नीतिगत निर्णय के हो भन्ने कानुन बनाउनुपर्छ। मन्त्रिपरिषदमाथि छानबिन गरिनुपर्छ। स्वार्थको द्वन्द्वको कानुन बनाउनुपर्छ।’
यो पनि: रविलाई लक्षित गर्दै गगनले भने- तथ्य र प्रमाण भएकैले ९ घन्टा बयान लिएको हो