राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले चाडपर्व आउन लागेका बेला अरू कम्पनीहरूसँग पैसाको सेटिङमा नेपाल एयरलाइन्सका जहाज पार्किङमा पुर्याइएको हो भन्ने प्रश्न गरेका छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले नेपाल एयरलाइन्सका सबै जाहाज ग्राउण्डेड भएको खबर आएकोप्रति सरकारको ध्यानाकर्षण गराएका हुन्।
‘चाडपर्व आउन लागेको बेलामा कतै अन्तर्राष्ट्रिय अरू कम्पनीहरूले सञ्चालितहरूलाई पैसा र नाफा दिनका लागि सेटिङमा आफ्नो ध्वजावाहकलाई पार्किङमा पुर्याइएको हो कि भन्ने आशंका छ,’ उनले भने।
'सि' चेक गर्न भारत पठाएको जहाज त्यहाँबाट इटाली लगिएको र ९० दिनभन्दा बढी समय महँगो पार्किङ शुल्क तिरेर राखिएको पनि बताए।
‘सि चेकको लागि एक महिनाको मात्र समय लिएर पठाइएको जहाज केही दिन दिल्लीमा राखियो र त्यहाँ कसैले देख्लान् कि भनेर लुकाउनका लागि इटाली लगियो। इटालीमा ९० दिनभन्दा धेरै भइसक्यो। जहाँ दैनिक रुपमा ३ हजार भन्दा धेरै पार्किङ चार्ज मात्र तिरिरहेका छौँ,’ उनले भने।