नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले गौरा पर्वका अवसरमा काठमाडौंको टुँडिखेलमा भएको आक्रोश कोप्रति लक्षित हो भन्ने प्रश्न गरेका छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले युवाहरूले टुँडिखेलमा देखाएको आक्रोश कोप्रति लक्षित हो भन्ने प्रश्न गरेका हुन्।
टुँडिखेलमा प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध नाराबाजी गरेको आरोपमा केही युवालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीहरूलाई रिहाइ गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका केही सांसदहरूले माग गर्दै आएका छन्।
‘गौरा पर्वमाथि आक्रमण गरिएको हो कि प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीमाथि आक्रमण गरिएको हो?,’ बजगाईको प्रश्न छ, ‘कि कांग्रेसमाथिको आक्रमण हो?’
टुँडिखेलको कार्यक्रममा प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, पर्यटन मन्त्री बद्री पाण्डे, उद्योग मन्त्री दामोदर भण्डारी, वन मन्त्री ऐनबहादुर शाही ठकुरीलगायत थिए।
फरक प्रसंगमा बजगाईले रास्वपाका सहमहामन्त्री क्यानका डिजी जोगाउनुपर्यो भन्दै आफूकहाँ आइपुगेको दाबीसमेत गरेका छन्। ती सहमहामन्त्री को हुन् भन्ने नाम भने उनले खुलाएनन्।
‘म प्रश्न गर्न चाहन्छु- द्वेध चरित्रले यो देश कहाँ पुग्छ? नयाँ पार्टीसँग जनताको आशा, भरोसा छ भनिएको छ,’ उनले भने।
साथै बजगाईले गोरखाको छेकम्पारका दुई युवा चीनको तिब्बतस्थित प्रशासनको नियन्त्रणमा रहेको र यसबारे चिनियाँ दूतावासलगायतसँग सोधीखोजी गरिएको पनि बताए।