परराष्ट्र मन्त्री आरजु राणा देउवा हिजोआज कैलालीमा छिन्।
उनी बुधबार धनगढी गएकी थिइन्। गौरा विसर्जनका लागि उनी धनगढी पुगेकी हुन्।
त्यसबाहेक परराष्ट्र मन्त्री राणा धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान र खेलग्राम पूर्वाधार निर्माण विकास समितिले आयोजना गरेको कार्यक्रमलगायतमा सहभागी पनि भएकी छन्।
निवासमा बिहीबार बिहान पत्रकार सम्मेलन राखियो। परराष्ट्र मन्त्री राणाले संघीय संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सरकार गठनको अवस्थालगायत विभिन्न विषयमा कुरा राखिन्।
परराष्ट्रमन्त्री राणालाई पत्रकारले सोधे- अबको प्रधानमन्त्री तपाईं हो?
यो प्रश्नमा जबाफ दिँदै परराष्ट्रमन्त्री राणाले अबको प्रधानमन्त्री आफू नभई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हो भनिन्।
‘हाम्रो पार्टी अनुशासनमा चल्ने पार्टी हो। प्रधानमन्त्री भन्ने कुरा त्यो पहिले संसदीय दल नेता हुनुपर्यो। बाहिरबाट हेर्दा एउटा देखिएला, पार्टीभित्र मेरो आफ्नो हैसियत कति हो मलाई थाहा छ, राम्रो कल्पना हो,’ आरजुले भनिन्।
महिलालाई प्रधानमन्त्री बनाउन चाहन्छु भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले हालै दिएका अभिव्यक्तिलाई भने उनले सकारात्मक भन्दै धन्यवाद दिएकी छन्।
‘म प्रधानमन्त्री ओलीजीलाई धन्यवाद दिन चाहन्छु। तर त्यो कुरा मेरा लागि भन्नु भएको जस्तो लाग्दैन। उहाँले आफ्नो पार्टीको कोही उम्मेदवार हुन सक्छ भन्नु भएको होला,’ उनले भनिन्, ‘अबको प्रधानमन्त्री शेरबहादुर देउवाजी हो।’
उनले प्रधानमन्त्री बन्नुअघि संसदीय दल नेता हुनुपर्ने कुरा पनि उल्लेख गरेकी थिइन्। २०७९ पुस ६ गते भएको संसदीय दल नेता निर्वाचनमा गगन थापालाई हराएर शेरबहादुर देउवा संसदीय दल नेता बनेका थिए।
गत असार १७ गते देउवा र ओलीबीच भएको ७ बुँदे सहमतिमा पनि दुई वर्ष ओली र त्यसपछि चुनाव गराउने गरी डेढ वर्ष शेरबहादुर प्रधानमन्त्री बन्ने सहमति छ। त्यसतर्फ लक्षित गर्दै परराष्ट्रमन्त्री आरजुले अब शेरबहादुर नै प्रधानमन्त्री बन्ने बताइन्।
प्रधानमन्त्री ओलीले काठमाडौंमा भएको युथ कन्क्लेभमा बोल्दै महिलालाई प्रधानमन्त्री बनाउन आफूले चाहेको अभिव्यक्ति दिएका थिए। कतिपयले ओलीको अभिव्यक्ति आरजु लक्षित हो भन्ने व्याख्या गरेकोमा आरजुले नै खण्डन गरेकी छन्।
आरजु प्रतिनिधि सभा सदस्य र कांग्रेस केन्द्रीय पनि सदस्य छिन्।
उनले काग्रेस-एमालेबीच सत्ता सहकार्यले २०८४ सम्म नै निरन्तरता पाउने बताइन्।
‘पहिलाको दुई वर्ष ओलीजीले नेतृत्व गर्ने र बाँकी शेरबहादुरजीले लिड गर्ने हो,’ यो सहमति पहिला नै सार्वजनिक भइरहेको उल्लेख गर्दै उनले भनिन्।
उनले के-के काम गर्न कांग्रेस-एमालेले सरकार बनाएको भन्ने पनि सात बुँदे सहमतिमै प्रष्ट खुलाइएको बताइन्। संविधानको पुनरावलोकन गर्न पनि दुई ठूला दल गठबन्धन गरी सरकार बनाइएको उनले बताइन्।